कम्पनी ऐनलाई लत्त्याउँदै ५ वाणिज्य बैङ्क, कुन बैङ्कमा को महिला सञ्चालक ? « Arthapath.com
३१ आश्विन २०७८, आईतवार

कम्पनी ऐनलाई लत्त्याउँदै ५ वाणिज्य बैङ्क, कुन बैङ्कमा को महिला सञ्चालक ?



काठमाडौँ । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ । कम्पनी ऐनले समेत सञ्चालनमा आएका वा आउने पब्लिक कम्पनीले १ जना महिला सञ्चालक अनिवार्य हुन पर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार अधिकांश पब्लिक कम्पनीहरूले सञ्चालक समितिमा १ जना महिला सञ्चालक राखेका छन् । 

तर केही पब्लिक कम्पनीहरूले भने संविधान र कम्पनी ऐनले गरेका व्यवस्था हालसम्म पनि कार्यान्वयन गरेको पाइँदैन । त्यो पनि वाणिज्य बैङ्कहरूले नै ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैङ्कमध्ये ५ वटा बैङ्कमा महिला सञ्चालक छैनन् । २७ वटै वाणिज्य बैङ्कमा महिला र पुरुष गरी कुल १ सय ७४ जना सञ्चालक छन् । जसमध्ये १३ प्रतिशत अर्थात् २४ जना मात्र महिला सञ्चालक छन् । कम्पनी ऐन–२०६३ को पहिलो संशोधनमा महिला सेयर धनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य हुनु पर्ने व्यवस्था छ ।

महिला सञ्चालक नभएका बैङ्कहरू हिमालयन बैङ्क, एनआइसी एसिया बैङ्क, ग्लोबल आइएमई बैङ्क, एनएमबी बैंक र सिभिल बैङ्कमा महिला सञ्चालक छैनन् । हिमालयन बैङ्क जम्मा ७ जना, एनआइसी एसिया बैङ्कमा ७ जना, ग्लोबल आइएमई बैङ्कमा ६ जना र सिभिल बैङ्कमा ६ जना पुरुष सञ्चालक मात्रै छन् । एनएमबी बैंकमा पनि महिला संचालक छैनन् ।

महिला सञ्चालक भएका बैङ्कहरू

लक्ष्मी बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा २ जना महिला सञ्चालक छन् । लक्ष्मी बैङ्कमा जम्मा ६ जना सञ्चालक छन् । जसमध्ये विद्या बस्नेत स्वतन्त्र सञ्चालक र स्वाती रुङगटा सर्वसाधारणका तर्फबाट सञ्चालक छन् । त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा ५ जना सञ्चालकहरू छन् । जसमा जेरिन दारुवाला अध्यक्ष र करिन दि अलव्युस सञ्चालक छन् । बैङ्क अफ काठमान्डुमा पनि प्रमोटरको तर्फबाट अमृता उप्रेती र स्वतन्त्र सञ्चालकमा मोहना लोहनी छिन् । बैङ्कमा कुल ७ जना सञ्चालक छन् ।

सिद्धार्थ बैङ्कमा मिना कुमारी सैँजु सञ्चालक छिन् । नबिल बैङ्कमा जम्मा ७ जना सञ्चालक छन् । जसमा आशा राना अधिकारी स्वतन्त्र सञ्चालक हुन् । सेन्चुरी बैङ्कमा पनि स्वतन्त्र सञ्चालकमा डा. गीता प्रधान छिन् । बैङ्कमा कुल ६ जना सञ्चालक छन् । राष्ट्रिय वाणिज्य बैङ्कमा रोमिला ढकाल उप्रेती सञ्चालक छिन् । बैङ्कमा हाल ५ जना सञ्चालक छन् । साथै, प्राइम बैङ्कमा स्वतन्त्र सञ्चालकमा डा. मङ्गला श्रेष्ठ छिन् । बैङ्कमा कुल ८ जना सञ्चालक छन् । 

गायत्री थापा सानिमा बैङ्कको महिला सञ्चालक हुन् । बैङ्कमा कुल ६ जना सञ्चालक छन् । सनराइज बैङ्कले शारदा शर्मालाई महिला सञ्चालक नियुक्त गरेको छ । बैङ्कमा कुल ६ जना सञ्चालक छन् । यस्तै, मेगा बैङ्कमा कुल ६ जना सञ्चालकमा शिवादेवी काफ्ले स्वतन्त्र सञ्चालक छिन् । साथै, एनसीसी बैङ्कमा कुल ७ जना सञ्चालक छन् । जसमा सुमनकुमारी जोशी महिला सञ्चालक हुन् । साथै, नेपाल बङ्गलादेश बैङ्कमा प्रवर्द्धकका तर्फबाट कमरून नहर अहमद महिला सञ्चालक छिन् । बैङ्कमा कुल ६ जना सञ्चालक छन् ।

यसैगरी, सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्दै माछापुच्छ्रे बैङ्कमा सिर्जना कार्की भट्टराई, एभरेस्ट बैङ्कमा उर्मिला श्रेष्ठ, सिटिजन्स बैङ्कमा सिता कार्की केसी, प्रभु बैङ्कमा अन्जु अधिकारी र कुमारी बैङ्कमा अनुराधा चौधरी महिला सञ्चालक माछापुच्छ्रे बैङ्कमा ६ जना, एभरेस्ट बैङ्कमा ७ जना, सिटिजन्स बैङ्कमा ७ जना, प्रभु बैङ्कमा ६ जना र कुमारी बैङ्कमा ५ जना कुल सञ्चालक छन् । एनसीसी बैंकको सञ्चालक समितिमा सुमनकुमारी जोशी  छिन् ।

यस्तै, नेपाल एसबीआई बैङ्कमा विमला सुवेदी स्वतन्त्र सञ्चालक छिन् । बैङ्कमा कुल ६ जना सञ्चालक छन् । साथै, कृषि विकास बैङ्कमा इन्दिरा श्रेष्ठ मास्के स्वतन्त्र सञ्चालक छिन् । बैङ्कका कुल ७ जना सञ्चालक छन् । त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैङ्कमा कूल ७ जना सञ्चालक छन् । जसमा मञ्जु बस्नेत स्वतन्त्र सञ्चालक छिन् । नेपाल बैङ्कमा सरकारको तर्फबाट सावित्री रञ्जित श्रेष्ठ महिला सञ्चालक छिन् । बैङ्कमा कुल ८ जना सञ्चालक छन् ।


प्रतिक्रिया दिनुहोस्