राष्ट्र बैंक भन्छः लघुवित्तमा क्रस होल्डिङ मर्जर सम्भव छ, यो व्यवस्था व्यवहारिक नभएकाले सम्भव छैन्ः सीईओ शर्मा « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

राष्ट्र बैंक भन्छः लघुवित्तमा क्रस होल्डिङ मर्जर सम्भव छ, यो व्यवस्था व्यवहारिक नभएकाले सम्भव छैन्ः सीईओ शर्मा



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाव दिएको छ । लघुवित्तको संख्या घटाउनको लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था गरेको थियो ।

तर, कतिसम्म क्रस होल्डिङ भएका लघुवित्त अनिवार्य मर्जरमा जानुपर्ने हो ? भन्ने कुरा राष्ट्र बैंकले तय गर्न सकेको छैन् । यता राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकालका अनुसार कुन बैक तथा वित्त कम्पनीको कुन लघुवित्तमा कति प्रतिशत लगानी रहेको छ भनी अध्ययन भईरहेको छ ।

बैंक तथा वित्त कम्पनीहरुको दोहोरो लगानीको अध्ययन गरेर कति प्रतिशतसम्म लगानी भएका कम्पनीलाई मर्जर गराउने भन्ने विषयमा अध्ययन भइरहेको प्रवक्ता ढकाल बताउँछन् । प्रवक्ता ढकाल भन्छन्, “अध्ययन भईरहेको छ, मापदण्ड तथा निर्देशन तयार हुँदैछ, असार मसान्तसम्म मर्ज सम्भव हुने गरि काम हुँदैछ, सम्वभतः मंसिर महिनाभित्र निर्देशन तथा मापदण्ड तयार हुनसक्छ ।”

लघुवित्त कम्पनीहरू पनि कति प्रतिशतसम्म क्रस होल्डिङ भए अनिवार्य गर्ने ? भन्ने राष्ट्र बैंकको निणर्यको पर्खाइमा छन् । राष्ट्र बैंकले ल्याएको क्रस होल्डिङ व्यवस्था भनेजस्तो सजिलो र व्यवहारिक नभएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ समेत रहेका नेपाल लघुवित्त बैंङ्कर्स संघ (एनएमबीए) का अध्यक्ष प्रकाशराज शर्माले बताए । उनले भने, “एउटा बैक तथा वित्त कम्पनीले दुई वटा मात्रै लघुवित्तमा लगानी गरेको भए मर्जर गर्न सम्भव हुने थियो, तर एउटै कम्पनीले ३ वटाभन्दा बढीमा लगानी छ भने मर्जर हुन गाह्रो छ । त्यसैले यो व्यवस्था ब्यवहारिक छैन् ।”

राष्ट्र बैंकले ल्याएको उक्त व्यवस्थाले दोहोरो लगानी भएका लघुवित्तहरु असार मसान्तसम्ममा मर्ज हुनुपर्नेछ । तर यो सम्भव नभएको सीईओ शर्मा बताउँछन् ।

बैंक तथा वित्त कम्पनीहरुको दोहोरो लगानी कुन कम्पनीको कति प्रतिशतसम्म भए मर्जर गराउने भनरे राष्ट्र बैंकले मापदण्ड बनाए पनि असार मसान्तसम्ममा सम्भव नभएको सीईओ शर्माले बताए । ‘यदि राष्ट्र बैंकले मापदण्ड ल्याएपनि असार मसान्तसम्ममा यस्ता लघुवित्त मर्जर हुन सक्ने सम्भान कम छ किनभने दोहोरोलगानी नभएका लघुवित्त मर्जर गर्न त सकिएको छैन् ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्ममा ७० वटा लघुवित्त सञ्चालनमा रहेका छन् । स्रोतका अनुसार ३५ वटा लघुवित्तमा क्रसहोल्डिंग देखिएको छ । १४ वटा बैंकले २२ लघुवित्तमा दोहोरो लगानी गरेको छन् । त्यसैले २२ वटा लघुवित्तलाई १४ बैंकले मर्जरमा लैजानुपर्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्