यी ३ बैंकमा सीईओ पद रिक्त, कुमारी बैंक र सेञ्चुरी बैंक ६ महिनादेखि कामुको भरमा « Arthapath.com
२२ पुष २०७८, बिहीबार

यी ३ बैंकमा सीईओ पद रिक्त, कुमारी बैंक र सेञ्चुरी बैंक ६ महिनादेखि कामुको भरमा



काठमाडौं । कुमारी बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी ४ वर्षको कार्यकाल पुरा गरी गत ३१ आषाढमा कार्यकाल पुरा गरी बिदा भए । बैंकमा अनुजमणि तिमिल्सिना १ साउनदेखि कायममुकायम प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । यसअघि तिमिल्सिना बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । बैंक विगत ६ महिनादेखि सीईओ विहीन रहेको छ । तर बैंकको सञ्चालक समितिले सीईओ बनाउनको लागि चासो नै दिएको छैन् । बैंकमा सीईओ रिक्त भएको लामो समय हुँदा पनि कायममुकायम (कामु सीईओ) ले बैंक सञ्चालन भइरहेको छ । 

बैंक सञ्चालक समितिले अनुजलाई नै सीईओको जिम्मेवारी दिने तयारी थालेको स्रोतले बताएको छ । उनी यसअघि  सेञ्चुरीको सीईओबाट राजिनामा दिएर कुमारीको डेपुटी सीईओ बनेका थिए । त्यसैले पनि उनी कुमारी बैंकको सीईओ बन्ने पक्कापक्की जस्तै छ । तर सञ्चालक समितिले तिमिल्सेनालाई सीईओ नियुक्तिमा बिलम्ब गर्नुलाई विकल्प खोज्न खोजेको पनि चर्चा छ । कुमारी बैंकका केही सञ्चालकहरूले ६ महिनाअघि सनराइज बैंकबाट राजिनामा गरेका जनक शर्मा पौडेलसँग पनि कुराकानी गरेको चर्चा छ ।  

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई तिन महिनाभन्दा बढी सीईओ रिक्त राख्न नपाउने निर्देशन जारी गरेपछि बैंकहरूले विभिन्न कारण देखाउँदै सीईओ नियुक्ति गरेका छैनन् । 

यता तुलसीराम गौतमले सेञ्चुरी बैंकको सीईओबाट असार २० गते राजीनामा दिए । सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरि गौतमको राजीनामा स्वीकृति गर्याे । गौतमले राजीनामा दिएको ६ महिना पुगेको छ । सञ्चालक समितिले मनोज न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ) को जिम्मेवारी दिएको छ । शुरुमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा सूर्या लाइफका पूर्व सीईओ शिवनाथ पाण्डेलाई बैंकको सीईओ बनाउने भनिएपनि हालसम्म सञ्चालक समितिले कुनै निर्णय गर्न सकेको छैन् । 


बैंकबाट सीईओ बाहिरिँदा लामो समयसम्म बैङ्क कायम मुकायम (कामु) सीईओको भरमा चलिरहन्छ । केही महिना बैंकलाई सीईओविहीन बनाएर नयाँ सीईओ नियुक्तिका लागि व्यवस्थापनले खासै चासो दिएको देखिँदैन् । 

नेपाल बङ्गलादेश बैंकमा पनि यसै महिनादेखि सीईओ पद रिक्त छ । ज्ञानेन्द्र ढुंगानाको कार्यकाल सकिएपछि पौष १६ गतेबाट सीईओ पद रिक्त छ । हाल एनबि बैंकमा डेपुटी सीईओ रहेका सुरेन्द्र भुषण श्रेष्ठले बैंक सम्हाल्ने ल्याकत नभएको भन्दै सिनियर डेपुटी सीईओ नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले सीईओ बनाउने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा भुपेन्द्र पाण्डेलाई नियुक्त गरिसकेको छ । पाण्डेले माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । यदि नबिल बैंकसँग मर्जरको लागि एमओयु भयो भने पाण्डेलाई कामु सीईओको जिम्मेवारी दिइने छ । यदि नबिलसँग मर्जरको प्रक्रिया अगाडि बढेन भने पाण्डेलाई नै सीईओमा नियुक्त गर्ने स्रोत बताउँछ । यसअघि पाण्डे नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को डेपुटी सीईओमा कार्यरत थिए । राष्ट्रिय वाणिज्य बैंकबाट ३ वर्षअघि निफ्रा बैंकको डेपुटी सीईओमा नियुक्त भएका पाण्डेसँग २० वर्षे बैकिङ अनुभव छ । निफ्रा जस्तो ठूलो बैंकमा काम गरेका पाण्डे सानो बैंक फर्किनुलाई सीईओ बन्ने लाइनमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्