सर्वोच्चद्वरा थुनामुक्त गर्न अस्वीकार गरेको कमल ज्ञवालीको यस्तो छ रामकहानी « Arthapath.com
४ माघ २०७८, मंगलवार

सर्वोच्चद्वरा थुनामुक्त गर्न अस्वीकार गरेको कमल ज्ञवालीको यस्तो छ रामकहानी



काठमाडौँ । बैङ्किङ कसुरको आरोपमा थुनामा रहेको कमल ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । किष्ट बैङ्कका तत्कालीन प्रबन्ध निर्देशक कमल ज्ञवालीलाई उच्च अदालत पाटनले गरेको ४ वर्षका लागि जेल सजायको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो । 

सोही आदेशको विरुद्धमा गत भदौ १८ गते ज्ञवालीले उच्च अदालत पाटनलाई विपक्षी बनाएर बन्दी–प्रत्यक्षीकरणका साथै बैङ्किङ कसुरका विषयमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दै बुधवार न्यायाधीश द्वय आनन्द मोहन भट्टराई र मनोजकुमार शर्माको इजलासले बन्दी–प्रत्यक्षीकरणको रिट खारेज गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको छ । 

इजलासले बैङ्किङ कसुरका अन्य रिटमा कानून बमोजिम गर्न आदेश जारी गरेको छ । पुनरावेदन अदालत हालको उच्च अदालत पाटनले ज्ञवालीविरुद्ध जम्को प्रकाशनलाई ऋण दिएको आरोपमा बैङ्किङ कसुरको मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि ज्ञवाली फरार थिए ।

पुनरावेदन अदालतले ज्ञवालीलाई ४ वर्षको जेल सजाय सुनाएको थियो । उनी फरार अभियुक्तको रूपमा रहेका थिए । प्रहरीले २०७५ असोजमा ज्ञवालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । त्यसपछि उनले उच्च अदालत र जिल्ला अदालत काठमाडौंविरुद्द सर्वोच्चमा मुद्दा दायर गरेका थिए । ज्ञवालीले आफूलाई मुद्दाको बारेमा जानकारी नदिएको र बन्दी–प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

त्यसअघि पाटन उच्च अदालतका न्यायाधीशद्वय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले कमल ज्ञवाली दम्पत्तीलाई २०७३ असोज ५ गते ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनायो । त्यस्तै, ज्ञवाली पत्नी गौरी खनाल ज्ञवालीलाई ३ वर्ष जेल सजाय र ६ करोड २५ लाख र ६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो । 

गुल्मीको मध्यम वर्गीय परिवारमा जन्मिएका ज्ञवाली काठमाडौँ आएर पढाइसँगै काम गर्न थाले । सुरुमा पढाउँथे । पछि नयाँ सोच लिएर वित्तीय क्षेत्रमा हात हाले । ज्ञवालीले २०५९ सालमा ५ करोड रुपैयाँमा ‘पावर टु सक्सिड’ भन्ने मूल नाराका साथ किष्ट मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स खोले । फाइनान्स कम्पनी हुँदा किष्टले तीन पटक ५, १० र ३ प्रतिशत मात्रै नगद लाभांश दिएको थियो । तर, उनले त्यो फाइनान्सलाई स्तरोन्नति गरी २ अर्ब चुक्ता पुँजी पु¥याउँदै ०६६ साल वैशाख २४ गते ‘क’ वर्षको वाणिज्य बैङ्क अर्थात् किष्ट बैङ्क बनाए । 

त्यस बेला किष्टलाई उनले सबैभन्दा बढी अर्थात् ५१ शाखा भएको बैङ्क बनाए । हकप्रद सेयर दिएर ५ बाट १० करोड, १० बाट २० करोड, २० बाट ६० करोड र ८० करोडबाट एकै चोटि २ अर्ब रुपैयाँ पुँजी पु¥याएइएको थियो । हकप्रदको बाढीले किष्टको सेयर सूल्य आकासियो । त्यस बेला किष्टको एक कित्ता सेयरको मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो । 

घरजग्गा र सेयरमा ऋणमाथि ऋण थपेर लगानी बढाउँदै गएका ज्ञवाली अन्ततः जम्को प्रकाशनका नाममा किष्ट बैङ्कबाटै र सिद्धार्थ डेभलपमेन्ट बैङ्कबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि फरार भएका थिए । ज्ञवालीविरुद्ध सीआईबीले ठगी आरोपमा मुद्दा दायर गरेपछि किस्ट बैंकले आफ्नो अस्तित्व गुमायो । तत्कालीन प्रभु विकास बैंकले २०७१ भदौ ३० गते किस्ट बैङ्कलाई गाभेर प्रभु बैङ्कको नाममा एकीकृत कारोबार गरिसकेको छ । किस्ट किनेको प्रभुले भने २०७१ माघ १३ गते ज्ञवालीको बैङ्कमा रहेको सेयर बेचेर सावाँ–व्याजसहित २३ करोड रुपैयाँ असुल पनि गरिसकेको छ । 

तत्कालीन अवस्थामा कमल ज्ञवाली र किस्टले गरेको केही लगानी अहिले पनि प्रभु बैङ्कका लागि टाउको दुखाइ बनेको छ । ज्ञवालीलाई नजिकबाट चिन्नेहरूका अनुसार ज्ञवाली अति नै महत्त्वाकाङ्क्षी थिए । महत्त्वाकाङ्क्षाकै कारण उनी मध्यम वर्गीय परिवारबाट अर्ब पति बने । र, त्यही महत्वकांक्षले उनी अर्ब पतिबाट सडकमा झरे । र, अहिले जेलमा पुगे ।


प्रतिक्रिया दिनुहोस्