साउनमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्बले घट्यो, कर्जा लगानी बढ्दा सीडी रेसियो कति ? « Arthapath.com
५ भाद्र २०७९, आईतवार

साउनमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्बले घट्यो, कर्जा लगानी बढ्दा सीडी रेसियो कति ?



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ अनुसार गत असार महिनाको ३२ गतेदेखि साउन ३१ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको हो ।

गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप साउन ३१ गतेसम्म आइपुग्दा ४४ खर्ब ३३ अर्ब रुपैयाँमा खुम्चिएको संघको तथ्याङमा उल्लेख गरीएको छ । असार ३२ गतेदेखि साउन ६ गतेसम्मको अवधिमा ६३ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । त्यस्तै, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुको निक्षेप घटेको थियो । साउन लागेयता निरन्तर गिरावटमा आएको निक्षेप अन्तिम साता भने केहि सुधार भएको देखिएको छ । साउन २७ गतेदेखि ३१ गतेसम्मका अवधिमा वाणिज्य बैंकहरुमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

त्यस्तै, एनबीएका अनुसार साउन लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । । गत असार मसान्तसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ

साउन मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.०७ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्