देउराली बहुउदेश्यीय सहकारी हल्ला चलाइए जस्तो समस्यामा छैन: अध्यक्ष चौलागाँई « Arthapath.com
७ भाद्र २०७९, मंगलवार

देउराली बहुउदेश्यीय सहकारी हल्ला चलाइए जस्तो समस्यामा छैन: अध्यक्ष चौलागाँई



काठमाडौ । कोरोना महामारीको असर, अर्थजगतमा निरन्तरको तरलता समस्या र आर्थिक मन्दीको प्रभाव स्वरुप देउराली बहुउदेश्यीय सहकारीमा केही समस्या देखिए पनि ती हल हुने दिशामा रहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बताएका छन् ।

बजारमा देउराली बहुउदेश्यीय सहकारी समस्यामा गयो, डुब्न लाग्यो भन्ने खालका हल्ला फिजाइएपछि निक्षेपकर्ताहरुलाई डाकेर पत्रकार सम्मेलन गर्दै अध्यक्ष चौंलागाइले सो बताएका हुन् । संस्थाको सदस्यहरुको भेला सोमबार ललितपुर पार्टी प्यालेसमा गरिएको थियो । सो अवसरमा अध्यक्ष चौलागाँइले सदस्यहरुका प्रश्न तथा गुनासाहरुको जवाफ दिएका थिए । उनले कसैले पनि आत्तिनु नपर्ने र सबैको निक्षेप साँवा ब्याज सहित फिर्ता हुने बताएका छन् । त्यसका लागि सबैले धर्यता राख्नुपर्ने र संकटपूर्ण राष्टिय आर्थिक अवस्थाको परिस्थीतिलाई बुझनु पर्ने बताए ।

उनले निक्षेप फिर्ता लिन गर्न चाहनेहरुका लागि दुइ चरणमा दुइवटा विकल्प दिएर साँवा ब्याज सहित फिर्ता गर्ने बताएका छन् । अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली बहुउदेश्यीय सहकारी संस्था भने डुब्ने नै गरी कुनै समस्या नभएको बताएका छन् । विगत केहि महिना यता संस्थामा तरलताजन्य समस्या आएको भएपनि त्यसको विस्तारै हल हुँदै जाने उनले ठोकुवा गरे ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष चौलागाँइले संस्थामा सबै शिर्षकमा रहेका बचत रकमलाई दुइ भागमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना सुनाएका छन् । ५ लाख सम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दामाथीका लागि ठुलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना पस्केका छन् । संस्थाको रकम दुरुपयोग भएको नभइ लगानी गरेका ठाउँहरुबाट रकम उठती नभएको कारण समस्या देखिएको चौलागाँइले बताएका छन् । पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको ३ ओटै काउन्टरबाट क्रमिक भुक्तानि गर्दै जाने र ५ लाख भन्दा बढी बचत रकम भएकाहरुलाई २ बर्ष भित्र सम्पुर्ण रकम फिर्ता गरिने अध्यक्ष चौलागाँइले बताए । ५ लाख बढीका निक्षेपकर्ताहरुले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरि बचत रकम सुरक्षण गर्ने योजना सुनाए् ।

चौलागाँइले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं ६ मेघौलीमा रहेको ५७ विगाहा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरेका छन् । मेघौली लगायत अरु विभिन्न ठाउँहरुमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठुला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ । बचतकर्ताहरुले रकमको सट्टा प्लट नै लिन पनि पाउने संस्थाले बताएको छ । त्यसैगरी संस्थाले दुइ महिना यता तरलता समस्याका कारण टोकन सिस्टममा चलाइएका सबै काउन्टर नर्मल रुपमा खोल्ने भएको छ । ५ लाखसम्म बचत रहेका साना बचतकर्ताको रकम अविलम्ब फिर्ता गर्दै जाने बताएको छ । बहुउदेश्यिय सहकारी भएको हिसावले संस्थाले विभिन्न ठाउँमा गरेको लगानीको प्रतिफल प्राप्त नभइसकेको अवस्थामा केही समस्याहरु देखिएको भएपनि संस्था सुदृढ रहेको अध्यक्ष चौलागाँइले बताए । कोभिडका कारण संस्थाद्धारा प्रवाह गरिएका कर्जा रकम नउठेको भएपनि विस्तारै उठ्दै गएपछी संस्था लयमा फर्किने उनले बताए । उनले संस्थाले आर्थिक मन्दीसँग जुधेर आफना सबै लक्ष्य उदेश्य हासिल गर्ने ठोकुवा गरे ।

करिव २० हजार सदस्यहरु रहेको देउराली बहुउदेश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । संस्थाले प्रवाह गरेको कर्जा समयमा नै नउठेको र कोभिड लगायत देशमा प्रकट भएको आर्थिक मन्दीका कारण समस्या सिर्जेको अध्यक्ष चौलागाँइले बताएका छन् । ललितपुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरि ३ वटा काउन्टर छन् ।


प्रतिक्रिया दिनुहोस्