चालू पुँजी कर्जामा कडाइ गर्दा बैङ्कहरूको प्रोभिजन बढ्छः बैंकर रत्नराज बज्राचार्यको विचार « Arthapath.com
१४ भाद्र २०७९, मंगलवार

चालू पुँजी कर्जामा कडाइ गर्दा बैङ्कहरूको प्रोभिजन बढ्छः बैंकर रत्नराज बज्राचार्यको विचार



कर्जालाई अनुशासनमा राख्न राष्ट्र बैङ्कले वर्किङ क्यापिटलको निर्देशन ल्याएको हो जस्तो लाग्छ । कुनै पनि निर्देशन दिएर आजको भोलि नै सबै चिज फरक पर्ने गरी काम गर भन्दा अफ्ठेरो हुन्छ । राष्ट्र बैङ्कले ल्याएको निर्देशन अनुसार हामीले तालिम दिन सुरु गरिसकेका छौँ । कात्तिक १ गतेदेखि नै लागू गर्नका लागि त अहिलेदेखि नै तयारी चाहियो । बैङ्कका शाखा प्रमुख र कर्मचारीलाई यस विषयमा धारणा दिनुप¥यो । यसका लागि केही समय लाग्छ । 

यो नयाँ मार्गदर्शनलाई लिएर हामी बैंकरहरु र व्यापारी/ व्यवसायीको कठिन पक्ष २० देखी ४० प्रतिशतसम्म चालु पुँजीको कर्जा हुन सक्छ । ४० प्रतिशतभन्दा बढी त हुने कुरा भएन । चालु पुँजी कर्जालाई राष्ट्र बैंकले दुई भागमा बाँडेको छ । एउटा स्थायी कार्य पुँजी र अर्को अस्थिर कार्य पुँजी हुन्छ । 

स्थायी कार्य पुँजीलाई ५ वर्ष भन्दा बढी अवधिको लागि दिनुपर्छ । त्यो कर्जालाई हरेक वर्ष समानुपातिक तवरले घटाउँदै लैजानु पर्ने हुन्छ । यस्तो कर्जामा ५ वर्ष पछि पैसा असुल गर्ने भनेर व्यवस्थापन गर्न सकिन्छ । ६–७ वर्षमा त व्यवसाय बढ्छ । व्यवसाय बढ्दै जाने, सम्पत्तिको मूल्य ह्रास पनि डिप्रिसियशन बढ्दै जाने, चालु पुँजीको कर्जा चुक्ता गर्दै जाने परिस्थिति बन्न सक्छ । यस्तो बेला बढेको बिजनेसको लागि चालु पुँजी कर्जा अस्थिर कार्य पुँजीलाई मात्रै दिने सुविधा रहन सक्छ । त्यस त्यसले व्यवसायीको आवश्यकता धान्दैन । 

राष्ट्र बैङ्कले ४० प्रतिशतसम्म देऊ, जसरी भए पनि अस्थिर कार्य पुँजीबाट देऊ, स्थायी पुँजी घटाउँदै लैजाऊ, तत्काल अस्थायी र स्थायी दुवै पुँजीलाई व्यवस्थापन गरेर जाऊ भनेको छ । ५–७ वर्षपछि स्थायीलाई नभई अस्थायी पुँजीलाई मात्रै ऋण देऊ भनेको छ । 

चालू पुँजी कर्जामा बुझ्नुपर्ने कुरा त्यसको केही प्रतिशत जहिले पनि स्थिर पुँजीमा लगानी भएको हुन्छ । कसैले आज व्यवसाय सुरु गर्दा कतिसम्म पुँजी जगेडामा रहिरहनु पर्छ ? अस्थायी पुँजीले त फरक पार्दैन । स्थिर पुँजीलाई हामीले घटाउँदै लैजाने हो । कुनै व्यापारीले आफ्नो व्यवसाय अघि बढाइरहेको अवस्थामा उसको कर्जा एकै पटक शून्यमा झार्नु कति हदसम्म व्यावहारिक हुन्छ ? यो गम्भीर प्रश्न हो । यसमा व्यवसायीहरुले पनि व्यवस्थापन गर्नुप¥यो ।

हामीले यो निर्देशन लागू गर्दै जाँदा एक दुइटा समस्या परेको छ । यसमा राष्ट्र बैङ्कले पनि पुनः विचार गर्छ भन्ने लाग्छ । राष्ट्र बैङ्कले अहिलेसम्म बैङ्कहरूले दिएको कुनै एउटा कर्जा आंशिक वा पूर्ण रूपमा अनेत्र लगानी भयो भने पुरै कर्जाको प्रेभिजन गर्नुपर्छ भन्यो । यो भने को एक घरी केरामा एउटा कोसा बिग्रियो भने एकै पटक पुरै केरामा भएको लगानीको शतप्रतिशत प्रोभिजन गर्नुपर्छ भन्ने हो । यही कारण प्रोभिजन बढ्न सक्ने सम्भावना छ । तर जे भए पनि बैङ्कहरूले तत्काल यो निर्देशन लागू गर्नुको विकल्प छैन । 

(ग्लोबल आइएमई बैङ्कका सीईओ रत्नराज बज्राचार्यसंगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस्