हिमालय शमशेर र नेपाली अर्थतन्त्रसँगको साइनो  « Arthapath.com
२२ माघ २०७९, आईतवार

हिमालय शमशेर र नेपाली अर्थतन्त्रसँगको साइनो 



काठमाडौं । अहिले देश थुप्रै आर्थिक समस्याहरूसँग जुधिरहेको छ । सीमित धनीहरूले राज्यका अधिकतम स्रोतमाथि नियन्त्रण गर्दै लगेका छन् । आम मानिसहरूको वृत्ति विकास अझै ‘कुहिरोको काग’ नै भएको छ । आर्थिक एवम् वित्तीय नियामकहरू राजनीतिक दाउ साँध्ने गरी नीति बनाउँछन् । उनीहरूको लक्ष्य नै धेरै मान्छेको बगलीमा भएको सम्पत्ति थोरै भुईँफुट्टा वर्गको हातमा पुर्‍याउनु हुन्छ । तर एउटा शाही कुलमा जन्मिएर दरबारमा हुर्किएर पनि लोकको हितका निम्ति पसिना बगाएका होनहार अर्थशास्त्री देशले गुमाएको छ । 

आइतबार बिहानै हिमालय शमशेर जङ्गबहादुर राणा (जबरा)ले देश त्याग गरेका छन् । उनी नेपालको पहिलो अर्थ सचिव र नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हुन् । देश जहानियाँ व्यवस्थाबाट भर्खरै शासकीय थिति प्रजातन्त्रको अभ्यासमा रूपान्तरण हुँदै थियो । नयाँ व्यवस्था कसरी अघि बढाउने भन्ने अन्योल चारैतिर थियो । त्यस्तो बेला राष्ट्रको ढुकुटीको चलाउने मात्रै होइन, थैलो भर्ने दायित्वको भारी बोक्न तयार भएर उभियो–एउटा २४ वर्षे ठिटो । 

काठमाडौँको रानी पोखरी छेउको दरबार हाई स्कुल पढेर हुर्केका र भारतको बम्बई युनिभर्सिटीबाट स्नातकोत्तर गरेका त्यही लक्का जवान प्रजातन्त्रपछि स्थापना भएको अर्थ मन्त्रालयको पहिलो अर्थ सचिव बन्यो । राणा प्रधानमन्त्री देव शमशेरको कुलमा जन्मिएका तिनै हिमालय शम्शेर जबराले जीवनको ९६ औँ वसन्त कुर्दाकुर्दै आइतबार बिहान आफ्नो नश्वर देह त्याग गरेका छन् । आधुनिक नेपालमा अर्थतन्त्र र आर्थिक प्रशासनयन्त्रको जग हाल्न उनको बराबर योगदान अरू कसैको छैन । 

उनले बजेटरी र मौद्रिक प्रणालीहरूको स्थापना गराए । २००८ साल मङ्सिर १३ गते अर्थ मन्त्रालयको सचिव बनेका उनले सुवर्ण शमशेर, केशर शमशेर र स्वयम् प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पनि राष्ट्रको ढुकुटी सञ्चालन गर्न सिकाए र सघाए । २०१२ साल चैत ३० मा अर्थ मन्त्रालयबाट बाहिरिँदासम्म सरकारको आय व्ययको हिसाब देखाउने बजेट कसरी बनाउने भन्ने थिति बसाले । राजस्व बढाउन भनेर भन्सार प्रशासनको आधुनिकीकरण गरे । 

आन्तरिक राजस्व प्रशासनलाई बलियो पारे । सरकारको ढुकुटी भर्ने र खर्च गर्ने मात्रै होइन, त्यसको पारदर्शिता र आर्थिक अनुशासनका निम्ति महालेखा परीक्षकको कार्यालय खडा गरेर मुलुकको बृहत्तर आर्थिक व्यवस्थापनका आधार तयार पारिदिए । भारत र त्यहाँको सरकारसँग नतमस्तक भएका राजा त्रिभुवनको अन्त्यपछि राष्ट्रवादी छवि लिएका महेन्द्रले राणाको जोस र होसलाई राम्रो मूल्याङ्कन गरे । त्यसपछि महेन्द्रले नै उनलाई नेपालमा केन्द्रीय बैंक स्थापना गर्ने र तत्कालीन नेपाल अधिराज्यबाट भारतीय मुद्राको कारोबारलाई विस्थापित गर्ने अभिभारा राणाको काँधमा हालिदिए । 

अर्थ मन्त्रालय छाडेको दुई साता नबित्दै २०१३ साल वैशाख १४ गते उनी नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर चुनिए । उनी जुन दिन गभर्नर बने, राष्ट्र बैंक त्यसै दिन स्थापना भएको मानियो । करिब साढे ४ वर्ष अर्थ सचिव भएर राष्ट्र बैंक खोल्न आउँदा पनि उनको उमेर २८ वर्ष ८ महिनाको थियो । आजभन्दा ६२ वर्षअघि २०१७ साल माघ २५ गते राष्ट्र बैंकको गभर्नरबाट अवकाश लिनुअघि नै उनले राष्ट्र बैंकलाई सुदृढ नियामकको रूपमा स्थपति गर्ने जग बसाइसकेका थिए । 

आजको दिनमा सरकारी नियामकमध्ये सबैभन्दा बलियो र विश्वासिलो मानिने राष्ट्र बैंक खडा गर्न राणाको धेरै नै पसिना बगेको छ । उनले नेपाली सिक्का झोलामा बोकेर तराईका अधिकांश सहरी क्षेत्र डुलेका छन् । नेपाली मुद्राभन्दा भारतीय रुपयेको बढी कारोबार हुने तराइमा नेपाली पैसा चलनचल्तीमा ल्याउन उनको नेतृत्व सर्वथा सफल भयो । काठमाडौँको इन्द्र चोकका व्यापारीको भरमा रहेको नेपाली मुद्राको विनिमय दर निर्धारण गर्ने व्यवस्थालाई केन्द्रीय बैंकको टोकरीमा थुत्न र यथार्थपरक विनिमय दर निर्धारण गर्न उनी सफल भए । 

हाम्रो विनिमय प्रणाली अहिले पनि राणाले बसाएको थितिमै चलिरहेको छ । नेपालमा बैंकिङ क्षेत्रको विकासमा पनि उनको उल्लेख्य भूमिका रह्यो । अहिलेको हिमालयन बैंक उनैको पहलमा खोलिएको हो । उनले पाकिस्तानको हबिब बैंकको साझेदारीमा नेपालमा बाणिज्य बैंक स्थापना गरे । विदेशी बैङ्कहरूलाई नेपालमा शाखा तथा छुट्टै बैंक खोल्न उनको ज्यादै ठुलो प्रयत्न रह्यो । समष्टिमा हाम्रो आधुनिक अर्थतन्त्रको जग हाल्ने मात्रै होइन, नीतिगत, संरचनागत र व्यवस्थापकीय पूर्वाधारहरू खडा गर्नमा राणाको ठुलो भूमिका छ ।

दुई छोरा र दुई छोरीका पिता राणा लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित थिए । उनको एक छोरा अशोक शम्शेर जबरा अहिले पनि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । एउटी छोरीले अहिले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसँग र अर्की छोरीले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापासँग बिहे गरेकी छिन् ।

१९८४ पुस २४ गते आइतबार स्वस्थानी सुरु गर्ने (पुस)ं पूर्णिमाका दिन जन्मिएका राणा आइतबार नै स्वस्थानी साङ्गे (माघ) पूर्णिमाको दिन अस्ताएका छन् । यो तिथीको ज्योतिषीय महत्त्व आफ्नो ठाउँमा होला, तर उनले खडा गरिदिएका अर्थतन्त्रका पूर्वाधारहरू अहिले पनि यो देशको दरिला खम्बा बनेर ठडिएका छन् । उनै राणालाई भावपूर्ण श्रद्धा सुमन । 


प्रतिक्रिया दिनुहोस्