तरलता संकट कायमै, तर निक्षेप संकलन निरन्तर नयाँ विन्दुमा « Arthapath.com
२० चैत्र २०७९, सोमबार

तरलता संकट कायमै, तर निक्षेप संकलन निरन्तर नयाँ विन्दुमा



काठमाडौं । गत आर्थिक वर्षको सुरुवातदेखि नै बैंकिङ् क्षेत्रमा तरलता अभाव व्यापक रुपमा हुँदै आएको छ ।

अझै पनि बैंकहरुमा तरलताको हिसावले सहज अवस्थामा भने छैन । यद्यपि, बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा नयाँ रेकर्ड बनाएको छ । बैंकिङ्ग क्षेत्रको निक्षेप ह्वात्तै बढेको छ ।

पछिल्लो एक दिनमै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च पनि हो । यसअघि पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन ५४ खर्ब १० अर्ब रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल राष्ट्र बैंकले पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १० रुपैयाँले वृद्धि भई ५४ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीमा पनि सामान्य सुधार छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह एकैदिन २ अर्ब रुपैयाँले वृद्धि भई ४८ खर्ब २० अर्ब पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । बुधवारसम्मको अपटेडमा भने ४८ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले थपिएको छ । बिहीवारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको हो । तर, बुधवारसम्मको अपटेडमा ४७ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । वाणिज्य बैंकहरुले भने थप १ अर्ब कर्जा लगानी गरेका छन् । बिहीवारसम्मको तथ्याङ्कमा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । तर, बुधवारसम्ममा ४२ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

बैंकरहरुले पनि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप क्रमिक रुपमा बढ्दै गएको बताएका छन् । बैंकहरुमा निक्षेप बढ्दै गएको र अब ब्याजदर घटाउने प्रयासमा रहेको उनीहरुको भनाई छ । बैंकहरु हाल करिब २ खर्ब ऋण लगानी गर्न सक्ने अवस्थामा रहेकोउनीहरुको भनाई छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निष्ैप अनुपात (सीडी रेसियो) पनि सुधार हुँदै आएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुको सीडि रेसियो ८५.५४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।


प्रतिक्रिया दिनुहोस्