बैंकिङ्ग प्रणालीमा एकैदिन थपियो १२ अर्ब निक्षेप: कर्जा लगानी ठप्पै, अन्तर बैंक ब्याजदर साढे २ प्रतिशत तल « Arthapath.com
२४ असार २०८०, आईतवार

बैंकिङ्ग प्रणालीमा एकैदिन थपियो १२ अर्ब निक्षेप: कर्जा लगानी ठप्पै, अन्तर बैंक ब्याजदर साढे २ प्रतिशत तल



काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकैदिन १२ अर्ब रुपैयाँ भित्रिएको छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नबद्दा बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिदै गएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५६ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यो गत अघिल्लोबिहीवारसम्म अपडेट हो । गत बुधवारसम्म भने बैंक तथा वित्तीय संस्थामा ५६ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ११ अर्बले बढेर ४९ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । गत बुधवारसम्म भने बैंकहरुसंग ४९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको थियो ।

बैंकहरुमा लगानीयोग्य पुँजी वृद्धि भएपनि कर्जा विस्तार भने ठप्प नै छ । आर्थिक मन्दीका कारण अझै पनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरुप बैंकहरुमा लगानीयोग्य रकम अस्वभाविक रुपमा थुिप्रदै गएको हो ।

अहिले बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) बढ्दै गएको छ । तर, कर्जाको माग भने निकै कम रहेको छ ।बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग नभएको हो । अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसाय पनि उत्साहजनक छैन । त्यसमाथि बैंक कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैंकबाट महंगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि छैन । सोही कारण बैंकहरुमा कर्जाको माग नभएको हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार झन् घटेको छ । गत बुधवारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४८ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, भोलिपल्टै अर्थात बुधवारसम्म आईपुग्दा भने १ अर्बले घटेको छ । समिक्षा अवधिमा वाणिज्य बैंकहरुले ४३ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

अन्तर बैंक ब्याजदर फेरि साढे २ प्रतिशत तल

बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापाटीको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घट्दै गएको हो ।

राष्ट्र बैंकका अनुसार अन्तर बैंक ब्याजदर २.४६ प्रतिशत कायम भएको छ । विशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो । बैंकहरुमा तरलता अभाव हुदाँ निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको व्याजदर अर्थात् अन्तर बैंक ब्याजदर पनि बढेको थियो । गत फागनुमा यस्तो ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो । तर, पछिल्लो सयम यस्तो ब्याजदर २ प्रतिशत हारहारीसम्ममा आइपुगेको थियो ।

सीडी रेसियो पनि घट्दै

कर्जाको माग नभएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार हाल सीडी रेसियो ८२.८८ प्रतिशतमा झरेको छ ।

गत साउनमा ८८.०७ प्रतिशत रहेको सीडी रेसियो अहिले निरन्तर घटी रहेको छ । बैंकहरु कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् । बैंकहरुले सीडी रेसीयो ९० प्रतिशतसम्म कायम गर्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । तर, अहिले बैंकहरुको सीडी रेसियो ८३ प्रतिशत भन्दा पनि कम छ ।


प्रतिक्रिया दिनुहोस्