बैंकिङ्ग प्रणालीमा थुप्रियो झण्डै ५ खर्ब लगानीयोग्य रकम: बस्तु तथा सेवाको बजार माग छैन, कर्जा प्रवाह न्यून « Arthapath.com
२ श्रावण २०८०, मंगलवार

बैंकिङ्ग प्रणालीमा थुप्रियो झण्डै ५ खर्ब लगानीयोग्य रकम: बस्तु तथा सेवाको बजार माग छैन, कर्जा प्रवाह न्यून



काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । हाल बैक तथा वित्तीय संस्थाहरुसंग करिव ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा बैंकिङ्ग प्रणालीमा ४ खर्ब ८१ अर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएको हो ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप पुगेको छ । पछिल्लो समय बैंकहरुमा निक्षेप ह्वात्तै बढेको छ । वाणिज्य बैंकहरुसंगै मात्रै ५० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यसमा करिब १ खर्ब रुपैयाँ निक्षेप स्थानीय तहको हो ।

तर, कर्जाको माग भने निकै कम रहेको छ । समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ५५ अर्ब ऋण लगानी गरेका छन् । वाणिज्य बैंकहरुले मात्रै ४२ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । पछिल्लो समय कर्जा लगानी झ्न घटेको पाइन्छ । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग हुन सकिरहेका छैन ।

अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसाय पनि उत्साहजनक छैन । त्यसमाथि बैंक कर्जाको ब्याजदर पनि उच्च भएकाले पनि कर्जाको माग नभएको बताइन्छ ।

पछिल्लो समयम अन्तर बैंक कारोबारको ब्याजदर निरन्तर घटीरहेको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घट्दै गएको हो । बैंकहरुमा तरलता अभाव हुँदा निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको ब्याजदर अर्थात अन्तर बैंक ब्याजदर पनि बढेको थियो । तर, पछिल्लो समय यस्तो ब्याजदर पनि घट्दै गएको हो । हाल अन्तर बैंक ब्याजदर शून्य दशमलव ४७ प्रतिशतको बिन्दुमा झरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । अहिले यस्तो अनुपात ८१.६२ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।

गत वर्षहरु बैंकहरु सीडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए । तर, पछिल्लो समयमा बैंकहरुमा अधिक तरलता थुप्रिएको छ भने कर्जाको माग हुन सकिरहेको अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस्