सुनकोशी–मरिणको सुरुङ निर्माण सकियो, आज ‘ब्रेक थ्रु’ « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

सुनकोशी–मरिणको सुरुङ निर्माण सकियो, आज ‘ब्रेक थ्रु’



काठमाडौँ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सुरुङको छिचोल्न प्रधानमन्त्रीको प्रतीक्षा गरिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीको खुर्कोट नजिकै कानढुंग्री पुगेर सुरुङ छिचोलेको ‘उत्सव’ मनाउने भएका छन् ।

यो सुरुङ २०७९ असोज २८ बाट खन्न सुरु गरिएको थियो । यसअघि भेरी–बबई डाइभर्सनमा जस्तै सुनकोशी मरिणमा पनि टलेन बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खनिएको हो । गत वैशाख १६ मै आयोजनाले १३.३ किलोमिटरमध्ये जम्मा ५० सेन्टिमिटरमात्रै खन्न बाँकी राखेको विवरण वेवसाइटमा समावेश गरेको थियो ।

तराइका पाँच जिल्लामा वर्षै भरी सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्यका साथ अघि बढाइएको यो आयोजनालाई सरकारले ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरेको छ । आयोजनाको सुरुङ निर्माण १९ महिनामै सकिए पनि उक्त सुरुङलाई प्रयोग योग्य बनाउन अर्को १ देखि २ वर्ष लाग्ने आयोजनाका अधिकारीहरुले जनाएका छन् ।

कुल २२ महिनामाकाम सक्ने लक्ष्य सहित कमलामाई–२ कुसुमटारबाट थालिएको सुरुङ निर्माण कार्य भने निर्धारित समयभन्दा अगाडी नै सकिएको हो । उक्त टीबीएमले एकै दिन बढीमा ७२ मिटरसम्म सुरुङ खनेको आयोजनाले जनाएको छ । यसबीच ६ पटक सुरुङ खन्न अवरोध आउँदा पनि समयमै काम सकिएको हो ।

सुरुङ छिचोलिए पनि यो सुरुङ मार्ग उपयोगमा ल्याउने हालतमा पुग्न समय लाग्ने छ । त्योभन्दा मुख्य कुरा ३० मिटर अग्लो र १५८ मिटर लामो ब्यारेज बनाएर पानी सुरुङमा हाल्नु पर्ने हुन्छ । अहिले पनि उक्त ब्यारेज निर्माणले खासैगति लिइसकेको छैन । सुनकोशी नदीमा बन्ने ब्यारेजको काम भने अघि बढेको छ ।

त्यस्तै सुरुङको अर्को छेउ अर्थात् कुसुमटारमा बन्ने जलविद्युत् गृहको पनि काम अघि बढिसकेको छैन । त्यहाँ विद्युत्गृह बनाएर ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

यो पनि पढ्नुहोस् :

साथै सुनकोशीबाट ६७ घनमिटर पानी थपेपछि मरिण खोलामा बढ्ने जलस्तरलाई बाटो देखाउन तटबन्ध गर्नुपर्ने काम पनि बाँकी छ । सुरुङ निस्कने कुसुमटारबाट मरिण खोला बागमतीमा मिसिने दोभानसम्म पुग्दा करीब ४२ किलोमिटर पर्छ । यसको दुई किनारमा पुरै तटबन्ध गर्न नसकिने भए पनि जोखिमयुक्त क्षेत्र र निजी जमीन जोगाउन भने तटबन्ध गरिने आयोजनाले जनाएको छ ।

यी कामहरु सकेर बागमती ब्यारेजबाट बारादेखि धनुषासम्मको भूमिमा सिंचाई गर्ने अवस्था बन्न अझै केही वर्ष कुर्नुपर्ने छ ।

सरकारले सुनकोशी नदीको पानी बागमतीमा पुर्याउँदासम्मको कामका लागि भनेर सुरुमा ४६ अर्ब १९ करोड ३९ लाख बजेट अनुमान गरेको थियो । यही आर्थिक वर्षमा सरकारले आयोजनाको पुरक मूल्यांकन गरेर ४९ अर्ब ४२ करोड ३१ लाख पुर्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्