लाभांश सिजन सुरु: धमाधम लाभांश घोषणाको तयारीमा वाणिज्य बैङ्क, कसले कति दिन सक्छ ? « Arthapath.com
२४ भाद्र २०८०, आईतवार

लाभांश सिजन सुरु: धमाधम लाभांश घोषणाको तयारीमा वाणिज्य बैङ्क, कसले कति दिन सक्छ ?



काठमाडौं । यस वर्षको लाभांश सिजन सुरु भइसकेको छ । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट विभिन्न बैङ्क तथा वित्तीय कम्पनीहरूले लाभांश घोषणा गरिरहेका छन् । 

वाणिज्य बैङ्क तर्फ पनि लाभांश घोषणा सुरु भएको छ । हालसम्म माछापुच्छ्रे बैङ्कले मात्र आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बैङ्कले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने भएको हो ।  

माछापुच्छ्रे बैङ्क बाहेकका अन्य बैङ्कहरू पनि लाभांश घोषणाको तयारीमा छन् । यति बेला एभरेष्ट बैङ्क, एनआईसी एशिया र सानिमा बैङ्क पनि अन्तिम तयारीमा छन् । यी तीनै वटा बैङ्कले लाभांश वितरणका लागि नेपाल राष्ट्र बैङ्कसँग प्रारम्भिक सहमति माग गरेका हुन् । अब १/२ दिनमै बैङ्कहरूको लाभांश घोषणा गर्न सक्ने बुझिएको छ। बैङ्कहरूले गत आर्थिक वर्षको वासलात (वित्तीय विवरण) लाई अन्तिम रूप दिएर राष्ट्र बैङ्कमा पेस गरेका छन्, केहीले पेस गर्ने तयारीमा छन् । यदि बैङ्कहरूले पेस गरेको वासलात केन्द्रीय बैङ्कले स्वीकृत पछि बैङ्कहरूले धमाधम लाभांश घोषणा गर्नेछन् ।  

(अब हेरौँ गत आर्थिक वर्षको मुनाफाबाट कुन बैङ्कले कति दिन सक्छन् लाभांश । साथ लाभांश इतिहास पनि)

एभरेष्टले दिनेछ सबैभन्दा धेरै लाभांश, दोस्रो एनआईसी एशिया 

गत वर्षको मुनाफाबाट एभरेष्ट बैङ्कले सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षमता बनाएको छ । बैङ्कले आफ्ना सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश  दिन सक्ने क्षमता बनाएको छ । गत वर्ष बैङ्कले ४ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैङ्कको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँ छ। यसकै आधारमा बैङ्कले साढे ४० प्रतिशत लाभांश बाँड्ने तयारीमा छ । अघिल्लो वर्ष पनि बैङ्कले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद लाभांश बाँडेको थियो ।

यस्तो बैङ्कको लाभांश इतिहास

एभरेष्ट बैंकको लाभांश इतिहास

दोस्रो स्थानमा भने एनआईसी एशिया बैङ्क देखिएको छ । दुई वर्षको सेयरधनीको हात रित्तो बनाएको एनआईसीले यस वर्ष भने ३१.९८ प्रतिशत लाभांश दिने सक्ने क्षमता बनाएको छ । हाल बैङ्कको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ र चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ । राष्ट्र बैङ्कले प्रारम्भिक स्वीकृति दिए एनआईसी एशियाले यस वर्ष झन्डै ३२ प्रतिशत लाभांश बाँड्न सक्नेछ ।

यस्तो छ बैङ्कको लाभांश इतिहास 

एनआईसी एशिया बैंकको लाभांश इतिहास

स्वीकृतिको पर्खाईमा सानिमा बैङ्क, दिन सक्नेछ १७ प्रतिशत बढी लाभांश 

सानिमा बैङ्कले पनि गत वर्षको वित्तीय विवरण राष्ट्र बैङ्क पेस गरेको छ । प्रारम्भिक स्वीकृति पश्चात् बैङ्कले लाभांश घोषणा गर्ने छ । बैङ्कको वितरणयोग्य नाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ । बैङ्कको चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ छ । यसकै आधारमा बैङ्कले आफ्ना सेयरधनीहरुलाई १७.७३ प्रतिशत लाभांश दिन सक्नेछ । 

यस्तो बैङ्कको लाभांश इतिहास 

सानिमा बैंकको लाभांश इतिहास

कुन बैङ्कको लाभांश क्षमता कति ?

वित्तीय रिपोर्ट अनुसार कृषि विकास बैङ्कको लाभांश १४.९२ प्रतिशत रहेको छ । बैङ्कले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई सो बराबरको लाभांश बाँड्न सक्नेछन् । हाल बैङ्कको वितरणयोग्य नाफा २ अर्ब ७१ लाख ५६ हजार रुपैयाँ र चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

नाफा लगायतको सूचकमा नम्बर वान रहेको नबिल बैङ्क भने लाभांश वितरण क्षमताको मामलामा सातौँ स्थानमा छ । हाल बैङ्कको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको छ । यता, बैङ्कको चुक्ता पुँजी भने २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । सोही आधारमा बैङ्कका सेयरधनीहरुले यस वर्ष १४.६३ प्रतिशत लाभांश पाउने सक्ने देखिन्छ । 

नबिल बैंकको लाभांश इतिहास

लाभांश क्षमताका आधारमा भने नेपाल एसबिआई बैङ्क भने आठौँ स्थानमा छ । बैङ्कले यस वर्ष आफ्ना सेयरधनीहरुलाई १३.९३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कले भने ११.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने सामर्थ्य बनाएको छ । 

हाल ९ वटा बैङ्कको लाभांश क्षमता एकल अङ्कमा देखिएको छ । वित्तीय रिपोर्टअनुसार ती बैङ्कको लाभांश क्षमता १० प्रतिशतभन्दा कम छ ।हालसालै एकीकृत कारोबार गरेका लक्ष्मी सइनराज बैङ्कको लाभांश क्षमता ८.९४ प्रतिशत देखिएको छ । 

अन्य सूचकहरूमा अब्बल कहलिएको ग्लोबल आइएमई बैङ्कको लाभांश क्षमता भने ८.२६ प्रतिशत रहेको छ । गत आवमा बैङ्कको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ ।

यस्तै, एनएमबि बैङ्कले यस वर्ष आफ्ना सेयरधनीलाई ८.१७ प्रतिशत, सिटिजन्स बैङ्कले ७.३० प्रतिशत, नेपाल बैङ्कले ६.६२ प्रतिशत, सिद्धार्थले ५.५४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएका छन् । त्यसैगरि प्राइम कमर्सियल बैङ्कले यस वर्ष १.०६ प्रतिशत, प्रभु बैङ्कले ०.६८ प्रतिशत, नपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले ०.६९ प्रतिशत लाभांश वितरण सक्ने सामर्थ्य बनाएका छन् ।

गत आवको वित्तीय रिपोर्टअनुसार कुमारी र हिमालयन बैङ्क लाभांश बाँड्न सक्ने अवस्थामा देखिएका छैनन् । कुमारी बैङ्कको लाभांश ८४ करोड ८३ लाख ५ हजार रुपैयाँ ऋणात्मक छ । यता, हिमालयन बैङ्कको वितरणयोग्य नाफा ७१ करोड १४ लाख ६९ हजार रुपैयाँ ऋणात्मक छ । बैङ्कको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्