बैंकिङ्ग प्रणालीमा थुप्रियो सवा ४ खर्ब बढी लगानीयोग्य रकम, अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा झर्‍यो  « Arthapath.com
४ आश्विन २०८०, बिहीबार

बैंकिङ्ग प्रणालीमा थुप्रियो सवा ४ खर्ब बढी लगानीयोग्य रकम, अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा झर्‍यो 



काठमाडौं । पछिल्लो समय अन्तरबैंक कारोबारको ब्याजदर निरन्तर घटिरहेको छ । बैङ्कहरूमा तरलता सहज हुँदै गएपछि अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घट्दै गएको हो ।

हाल अन्तर बैङ्क ब्याजदर ३ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले यस्तो ब्याजदर ३.०८ प्रतिशत कायम भएको छ । केही साता अघिसम्म यस्तो ब्याजदर ६ प्रतिशतभन्दा माथि रहेको थियो । 

विशेषगरि बैङ्कहरूमा तरलता बढ्दै गएपछि अन्तर बैङ्क ब्याजदर घटेको हो । हाल बैङ्कहरूमा निक्षेप उच्च वृद्धि भएको छ । खासगरि स्थानीय तहको रकम निक्षेपको रूपमा बैंकिङ्ग प्रणालीमा भित्रिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घटिरहेको छ ।   

सरकारले गत भदौ २४ गतेदेखि स्थानीय तहको पैसालाई निक्षेपको रूपमा गणना गर्न दिएको छ । सरकारको निर्णयपछि नै बैंकिङ्ग प्रणालीमा ६० अर्बभन्दा बढी रकम थपिएको छ । स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने भएपछि नै अन्तरबैंक ब्याजदर पनि घट्दै गएको हो । हाल बैङ्क तथा वित्तीय संस्थाहरूसँग ५७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम नै छ । तर, कर्जा लगानी भने त्यत्ति बढ्न सकेको छैन । राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

यता, वाणिज्य बैङ्कहरूको कुल निक्षेप सङ्कलन पनि ५० खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी भने ४३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । हाल वाणिज्य बैङ्कहरूसँग सवा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । तर, कर्जा लगानी भने सुस्त छ । 

बैंकिङ्ग प्रणाली लगानीयोग्य बढ्दै गए पनि कर्जा प्रवाह नहुँदा अन्तरबैंक ब्याजदर घट्दै गएको हो । हाल यस्तो ब्याजदर राष्ट्र बैङ्कले तोकेको अर्थात् राखेको सीमाभन्दा तल झरेको छ । नियामकले ब्याजदर करिडोर अन्तर्गत माथिल्लो सीमा ७.५ प्रतिशत कायम गरेको  । यता, ४.५ प्रतिशतको निक्षेप सङ्कलन दरलाई तल्लो सीमा कायम गरेको छ । बैङ्कहरूमा तरलता कम हुँदा यस्तो ब्याजदर माथिल्लो सीमामा पुग्ने गर्छ । तर, धेरै हुँदा तल्लो सीमामा झर्ने गर्छ ।

केही महिना अघिसम्म बैङ्कहरूमा तरलता अभाव हुँदा निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यस बेला बैङ्कहरूले एक अर्कामा सापटी लिने पैसाको ब्याजदर अर्थात् अन्तर बैङ्क ब्याजदर पनि बढेको थियो । 

सीडी रेसियो पनि घट्दै

निरन्तर निक्षेप बढ्दै जाँदा कर्जाको माग कम छ । जसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै आएको छ ।

हाल सीडी रेसियो ८२.५४ प्रतिशतको बिन्दुमा झरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् ।

बैङ्क तथा वित्तीय संस्थाहरूले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् । गत वर्षहरूमा बैङ्कहरू सीडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्