बैंकिङ्ग प्रणालीमा थुप्रियो झन्डै ५ खर्ब लगानीयोग्य रकम: कर्जा प्रवाह ठप्प, अझै सस्तिएला ब्याजदर ? « Arthapath.com
२२ कार्तिक २०८०, बुधबार

बैंकिङ्ग प्रणालीमा थुप्रियो झन्डै ५ खर्ब लगानीयोग्य रकम: कर्जा प्रवाह ठप्प, अझै सस्तिएला ब्याजदर ?



काठमाडौँ । पछिल्लो बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिन थालेको छ ।  बैङ्कहरूमा तरलता सहज हुँदै गएको छ । दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम पनि बिस्तारै फर्किन थालेको छ ।

हाल बैङ्क तथा वित्तीय संस्थाहरूसँग कुल ५९ खर्ब रुपैयाँ पुगेको छ । पछिल्लो एकै दिन बैंकिङ्ग प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार कात्तिक १८ गतेसम्ममा बैङ्क तथा वित्तीय संस्थामा ५८ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, एक दिनमै ४ अर्बले बढेर ५९ खर्ब पुगेको हो । दसैँका लागि बैंकिङ्ग प्रणालीबाट करिब ४७ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको थियो । तर, त्यो रकम भने बिस्तारै फर्किन थालेको छ । वाणिज्य बैङ्कहरूको निक्षेप पनि एकै दिन ५ अर्बले बढेर हाल ५२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । 

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार असोज मसान्त अर्थात् ३० गते बैंकिङ्ग प्रणालीमा कुल ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, दसैँपछि अर्थात् गत कात्तिक ९ गतेसम्म आइपुग्दा भने बैंकिङ्ग प्रणालीमा कुल ५८ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । पछिल्लो दिनहरूमा भने बाहिरिएको निक्षेप बैङ्कमा आउन थालेको तथ्याङ्कले देखाउँछ । दसैँ लगत्तै बैंकिङ्ग प्रणालीमा कुल ३२ अर्ब निक्षेप  फर्किएको छ । 

बैंकिङ्ग प्रणालीमा निक्षेप निरन्तर बढेता पनि कर्जा लगानी भने विस्तार हुन सकिरहेको छैन । असोज मसान्तपछिकै तथ्याङ्क अनुसार  पनि कर्जा प्रवाह ठप्प छ, उल्टै घटेको देखिन्छ । गत असोज ३० गते बैङ्क तथा वित्तीय संस्थाहरूले कुल ५० खर्ब कर्जा लगानी गरेका थिए । तर, कात्तिक १९ गतेसम्म आइपुग्दा २३ अर्बले घटेर ४७ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको छ । 

गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ्ग क्षेत्रमा तरलता अभाव व्यापक रूपमा हुँदै आएको थियो । नेपालको बैंकिङ्ग प्रणालीमा तरलता र लगानीयोग्य पुँजीमा कमी आई ब्याजदर समेत बढेको थियो । 

कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिक रूपमा पुनरुत्थान हुँदै गएको अवस्थामा रुस–युक्रेन युद्धको असर र आयात तीव्र वृद्धि हुँदा बैंकिङ्ग प्रणालीमा तरलता तथा लगानीयोग्य पुँजी कमी आएको थियो, जसले ब्याजदर पनि बढेको थियो । तर, पछिल्लो समय भने बिस्तारै सहज बन्दै आएको छ । बैङ्कहरूमा ऋण दिनका लागि मनग्य रकम थुप्रिएको छ ।हाल बैङ्क तथा वित्तीय संस्थाहरूसँग झन्डै ५ खर्ब लगानीयोग्य रकम रहेको छ । यो बैङ्क तथा वित्तीय संस्थाहरूमा हालको कर्जा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) को आधारमा हो । त्यसका आधारमा बैंकिङ्ग प्रणालीमा कुल ४ खर्ब ८५ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ । हाल सिडी रेसियो ८१.५३ प्रतिशत छ । यसका आधारमा बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।

यता, बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै गएपछि अन्तर बैङ्क ब्याजदर पनि घट्दै गएको छ । हाल यस्तो ब्याजदर ३.२२ प्रतिशतमा झरेको छ । अहिले बैङ्कहरूमा तरलता (लगानीयोग्य पुँजी) बढ्दै गएको छ । तर, कर्जाको माग भने निकै कम रहेको छ । बैङ्कहरूमा यसरी निक्षेप बढ्दै जाने हो भने ब्याजदर सस्तिने अनुमान समेत गरिएको छ । नेपाल बैंकर्स सघंले सोमबार आयोजना गरेको एक कार्यक्रममै ब्याजदर घट्दै जाने सङ्केत गरिएको थियो । बैङ्कले प्रिमियम घटाउन थालेकाले ब्याजदर पनि घट्दै जाने बताइएको थियो । 

विश्व बजारमा देखिएको आर्थिक मन्दी लगायत कारण लगानीको वातावरण पनि बिग्रँदो छ । आर्थिक गतिविधि नबढ्दा पनि कर्जा विस्तार हुन नसकेको बैंकरहरु बताउँछन् । अर्थतन्त्रमा आएको सङ्कटले पनि कर्जाको माग बढ्न नसकेको उनीहरूको भनाई छ । हाल बैङ्कहरूको औसत ब्याजदर १०.०९ प्रतिशत रहेको छ ।  यद्यपि, यसलाई उच्च ब्याजदर भन्न नमिल्ने बैंकरहरु तर्क छ । विशेषगरि आर्थिक शिथिलताले नै कर्जाको माग नभएको बताइन्छ । 


प्रतिक्रिया दिनुहोस्