बैङ्कहरूले घटाउन थाले कर्जाको ब्याजदर, अधिकांश बैङ्कको बेस रेट एकल अङ्कमा « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

बैङ्कहरूले घटाउन थाले कर्जाको ब्याजदर, अधिकांश बैङ्कको बेस रेट एकल अङ्कमा



काठमाडौँ । बैङ्कहरूको आधार दर (बेस रेट) घट्न थालेको छ । आधार दर घटेपछि कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो । बैङ्कहरूले प्रकाशित गरेको चालु आर्थिक २०८०/८१ को  पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार अधिकांश बैङ्कहरूको आधार दर एकल अङ्कमा झरेको छ । यद्यपि, औसत आधार दर पनि एकल अङ्कमा आइपुगेको छ हो । 

हाल बैङ्कहरूको औसत आधार दर १० प्रतिशत कम नै छ । हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, सिद्धार्थ, नबिल, एभरेष्ट, सानिमा, एनएमबि र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको आधार दर एकल अङ्कमा छ ।

बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । हाल ती नौ वटा बैङ्कहरूले सस्तो ब्याजमा ऋण दिन सक्ने देखिएको हो । हाल अधिकांश बैङ्कहरूको बेस रेट घटेको छ । बैङ्कहरूले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेका खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । 

बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैङ्कबाट कर्जा लिँदा औसतमा न्यूनतम ११.४९ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ । यद्यपि, बैङ्कहरूको आधार दर अनुसार फरक फरक हुनसक्छ ।

असोज मसान्तसम्ममा स्ट्याण्डर्ड चार्टर्डको आधार दर ८.४२ प्रतिशत, आरविविको ८.७०,  नेपाल बैङ्कको ९.१९, सिद्धार्थको ९.५३, नबिलको ९.५८, एभरेष्टको ९.७०, सानिमाको ९.७५, एनएमबिको ९.८५ र एनआइएमबिको ९.९९ प्रतिशत रहेको छ । यी बैङ्कहरूबाट ऋण लिँदा अन्यको बैङ्कको तुलनामा सस्तो ब्याज पर्नेछ । 

तर, कुमारी, हिमालयन र लक्ष्मी सनराइज बैङ्कबाट ऋण लिँदा भने महँगो ब्याज पर्ने देखिन्छ। हाल यी बैङ्कहरूको आधार दर क्रमशः १०.९१ प्रतिशत, १०.८६ प्रतिशत र १०.८० प्रतिशत रहेको छ । 


प्रतिक्रिया दिनुहोस्