बैङ्कबाट ऋण लिएर सेयर किन्दै लगानीकर्ता, नीतिगत लचकता र घट्दो ब्याजदरले आकर्षित भएका हुन् ? « Arthapath.com
२८ माघ २०८०, आईतवार

बैङ्कबाट ऋण लिएर सेयर किन्दै लगानीकर्ता, नीतिगत लचकता र घट्दो ब्याजदरले आकर्षित भएका हुन् ?



काठमाडौँ । पछिल्लो समय सेयर धितो कर्जा निरन्तर बढी रहेको छ । बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किन्ने सेयर लगानीकर्ताहरू बढ्न थालेका हुन् । लगानीकर्ताहरूले कर्जा लिएर बजारमा लगानी बढाउन खोजेको देखिन्छ ।   

नेपाल राष्ट्र बैङ्कका अनुसार पछिल्लो एक महिनामै लगानीकर्ताले ३ अर्ब बढी ऋण लिएर सेयर किनेका छन् । लगानीकर्ताहरूले गत पुस महिनामा मात्रै १ अर्ब  १० करोड रुपैयाँ सेयर कर्जा लिएको हुन् । तर, पुस मसान्तसम्ममा भने कुल ८४ अर्ब २९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । जुन गत असार मसान्तसम्मको तुलनामा १०.५० प्रतिशत बढी हो । गत असार मसान्तसम्ममा भने सेयर धितोमा कुल ७६ अर्ब ३० करोड ८० लाख बढी कर्जा प्रवाह भएको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म सेयर धितोमा ७६ अर्ब ४१ करोड ३० लाख, भदौसम्म ७७ अर्ब ६८ करोड ८० लाख, असोजसम्म ८१ अर्ब १६ करोड, कात्तिकसम्म ८१ अर्ब १९ करोड र गत मङ्सिरसम्ममा भने ८४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । अघिल्लो वर्षहरुमो यस्तो कर्जा बढ्न सकिरहेको थिएन । तर, नियामक निकायले मौद्रिक नीति मार्फत  सेयर धितो कर्जा सम्बन्धी लिएको लचिलो नीतिका कारण नै यस्तो कर्जा पछिल्लो समय बढ्न थालेको हो । नीतिगत लचकताले नै सेयर कर्जामा लगानीकर्ताको आकर्षण बढ्न थालेको हो ।

विशेषगरि पछिल्लो समय बैङ्कहरूले ब्याजदर पनि घटाइरहेका छन्, केन्द्रीय बैङ्कको नीतिगत लचकता र घट्दो ब्याजदरले लगानीकर्ता ऋण लिएर बजारमा लगानी बढाउन तर्फ केन्द्रित भएका हुन् । समग्रमा अन्य क्षेत्रको कर्जा सुस्ताए पनि सेयर कर्जाको माग भने बढ्न थालेको बैङ्कहरू बताउँछन् । राष्ट्र बैङ्कले सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले संस्थागत लगानीकर्तालाई २० करोड र व्यक्तिगत लगानीकर्तालाई १५ करोड सीमा तोकेको छ । यस्तै, जोखिम भार पनि घटाएर १२५ प्रतिशतमा झारेको छ। यस्तो नीतिगत लचकताले पनि सेयर धितो कर्जामा बढोत्तरी देखिएको हो ।

६ महिनाको तथ्याङ्क अनुसार १ करोड  भन्दा माथिको सेयर कर्जा बढेको देखिन्छ । गत असारसम्म यस्तो सीमामा ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, पुस मसान्तसम्म आइपुग्दा भने १४.७० प्रतिशत बढेर ५१ अर्ब ३०ल करोड ४० लाख पुगेको छ । गत साउनसम्ममा यस्तो ४४ अर्ब ३० करोड ८० लाख, भदौसम्म ४५ अर्ब २९ करोड ५० लाख, असोजसम्म ४७ अर्ब ९५ करोड ५० लाख, कात्तिकसम्म ४८ अर्ब १५ करोड २० लाख र मङ्सिरसम्म भने ४७ अर्ब ८४ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

राष्ट्र बैङ्कका अनुसार ५० लाखदेखि १ करोडसम्मको सेयर कर्जा प्रवाहमा पनि ८.६० प्रतिशतको बढोत्तरी देखिएको छ । यस्तो कर्जा गत असार मसान्तसम्ममा ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँ मात्रै थियो । तर, पुस मसान्तसम्म आइपुग्दा भने १ अर्बले बढेर १२ अर्ब ७८ करोड २० लाख रुपैयाँ पुगेको छ । यस्तो सीमामा गत साउनसम्म १० अर्ब ९७ करोड ६० लाख, भदौसम्म ११ अर्ब ३५ करोड २० लाख, असोजसम्म ११ अर्ब ४७ करोड २० लाख, कात्तिकसम्म ११ अर्ब ८३ करोड ३० लाख र मङ्सिरसम्ममा भने ११ अर्ब ८४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । 

यस्तै, २५ लाखदेखि ५० लाख र २५ लाख भन्दा कम सीमामा प्रवाहित हुने सेयर कर्जा भने सामान्य बढेको छ । यी दुई सीमाको कर्जा क्रमशः २ प्रतिशत र १.९० प्रतिशत मात्रै बढेको छ । गत असार मसान्तसम्म २५ लाखदेखि ५० लाखसम्मको सेयर कर्जा १२ र्अ ७८ करोड १० लाख रुपैयाँ थियो । यस्तै, गत साउनसम्म भने १४ अर्ब ८ करोड ७० लाख, भदौसम्म १३ अर्ब ८८ करोड ५० लाख, असोजसम्म १४ अर्ब १८ करोड ७० लाख, कात्तिकसम्म १३ अर्ब ८० करोड १० लाख र मङ्सिरसम्ममा भने १४ अर्ब १ करोड रुपैयाँ रहेको थियो । तर, पुस मसान्तसम्म आइपुग्दा भने १३ अर्ब ३ करोड ४० लाख रुपैयाँ कायम भएको छ । 

त्यसैगरि २५ लाखभन्दा कम सेयर कर्जा गत असार मसान्तसम्म ७ अर्ब ३ करोड ५० लाख रहेको थियो । यस्तै, गत साउनसम्म ७ अर्ब ४ करोड १० लाख रुपैयाँ थियो । तर, असोजमा भने यस्तो सीमाको सेयर कर्जा ह्वात्तै घटेर ८ करोड ८० लाखमा झरेको थियो । तर, पुस मसान्तसम्म आइपुग्दा भने यस्तो सीमाको सेयर कर्जा ७ अर्ब १६ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्