२० वटै वाणिज्य बैंकहरुको बेस रेट एकल अङ्कमा, कुन बैंकबाट कर्जा लिँदा सस्तो ? « Arthapath.com
१८ बैशाख २०८१, मंगलवार

२० वटै वाणिज्य बैंकहरुको बेस रेट एकल अङ्कमा, कुन बैंकबाट कर्जा लिँदा सस्तो ?



काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर एकल अंकमा झरेको छ । एक वर्षको अवधिमा बैंकहरुको औसत आधार दर २.४३ प्रतिशत बिन्दुले घटेको छ ।

बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुको आधार दर औसत ८.६१ प्रतिशत कायम भएको छ। तर, आवको चैत मसान्तसम्ममा भने बैंकहरुको आधार दर ११.०४ प्रतिशत रहेको थियो ।

पछिल्लो समय बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर थप घट्दै गएको हो । निक्षेपको ब्याजदर पनि घटाउँदा, यसले बैंकहरुको लागत पनि घटेको छ । बैंकहरुको आधार दर पनि घट्न थालेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ । ब्याजदर घटेपनि हाल कर्जाको माग बढ्न सकिरहेको छैन । यसले बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ ।

अहिले २० वटै बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ । सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्डको ७.५३ प्रतिशत छ । यता, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.३१ प्रतिशत र नेपाल बैंकको ७.९९ प्रतिशत छ ।

बेस रेटको आधारमा हाल यी बैंकहरुबाट ऋण लिँदा सबैभन्दा सस्तो ब्याज पर्ने देखिन्छ । यद्यपि अन्य बैङ्कहरूको आधार दर पनि एकल अंकमै भएकाले कर्जाको ब्याजदर पनि सस्तो नै पर्न जानेछ ।

आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।

हाल १२ वटा बैंकको आधार दर ९ प्रतिशत भन्दा कम र ८ प्रतिशतभन्दा माथि छ। समिक्षा अवधिमा एभरेष्ट बैंकको आधार दर ८.१३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा ८.३२ प्रतिशत, सानिमाको ८.३५, नबिलको ८.३६, सिद्धार्थको ८.४६, प्रभुको ८.४८, कृषि विकासको ८.६८, ग्लोबल आइएमईको ८.६४, एनआइसी एशियाको ८.८६, नेपाल एसबिआई ८.९५, माछापुच्छ्रेको ८.९७ र सिटिजन्स बैंकको ८.९९ प्रतिशत छ ।

यता, लक्ष्मी सनराइजको आधार दर ९.१२ प्रतिशत, एनएमबिको ९.१५ प्रतिशत, प्राइमको ९.२७ प्रतिशत, कुमारीको ९.३६ प्रतिशत र हिमालयन बैंकको ९.८४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्