कस्तो छ सरकारी बैंकहरुको वर्तमान वित्तीय अवस्था ? « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

कस्तो छ सरकारी बैंकहरुको वर्तमान वित्तीय अवस्था ?



काठमाडौं । सरकारी स्वामित्वमा रहेका तीन वाणिज्य बैंकहरु अवस्था पनि कमजोर नै देखिएको छ । बैंकहरुको मुख्य सूचकहरुमा नै गिरावट देखिएको छ । हाल राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक सरकारी स्वामित्वमा संचालन छ । बैंकहरुको वित्तीय विवरणले सरकारी स्वामित्वका बैंङ्कहरूको अवस्था अझ कमजोर देखाएको छ ।

यी बैंकहरुले प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा, खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी लगायतका सूचकहरूमा खास सुधार हुन सकेको छैन । बैंकहरुको खराब कर्जा पनि बढेको छ । यता, लाभांश क्षमता पनि खुम्चिएको छ। प्रतिसेयर आम्दानी पनि घटेको छ ।

नाफामा कृषि विकास बैंकको छलाङ, राष्ट्रिय वाणिज्य र नेपाल बैंकको घट्यो

समिक्षा अवधिमा कृषि विकास बैंकको बाहेक अन्य दुई वटाको नाफा घटेको छ । कृषि विकासव बैंकले ९ महिनामा २ अर्ब ५३ करोड घ८ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने ९७ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ४ करोड १० लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेपाल बैंकको घटेको छ । नेपाल बैंकको नाफा ९३ प्रतिशत घटेर १३ करोड रुपैयाँमा सिमित भएको छ । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको थियो । यता, राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ३४ प्रतिशत घटेर २ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी पनि १६ प्रतिशत घटेर ७ अर्ब ९७ करोड २२ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । तर, कृषि विकास बैंकको यस्तो आम्दानी भने १५ प्रतिशत बढेर ७ अर्ब २० करोड ३८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । यता, नेपाल बैंकको खुद ब्याज आम्दानी पनि ४ प्रतिशत बढेर ६ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।

व्यावसाय भने तीनै वटा बैंकको बढ्यो

समिक्षा अवधिमा बैंकहरुको व्यवसाय भने बढेको देखिन्छ । यी बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी भने बढाएका छन् ।
समिक्षा अवधिमा राष्ट्रिय बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर ३ खर्ब ६८ अर्ब २८ करोड १७ लाख रुपैयाँ पुगेको छ ।सो अवधिमा बैंकको कर्जा लगानी पनि ७ प्रतिशत बढेर २ खर्ब ५९ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

यता, निक्षेप संकलन वृद्धिदर पनि कृषि विकास बैंकको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन २६ प्रतिशत बढेर २ खर्ब २८ अर्ब ८ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । बैंकको कर्जा लगानी पनि ११ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ४८ करोड ८ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

यता नेपाल बैंकको निक्षेप संकलन खर्ब ६१ अर्ब ४७ करोड ९३ लाख र कर्जा लगानी १ खर्ब ९२ अर्ब २३ करोड ५४ लाख रुपैयाँ कायम भएको छ। गत वर्षको तुलनामा बैंकको निक्षेप १४ प्रतिशत र कर्जा प्रवाह ७ प्रतिशत बढेको हो ।

खराब कर्जाकै मारमा सरकारी बैंकहरु

समग्रमा बैंकहरु नै खराब कर्जाको चपेटामा परेका छन् । सरकारी बैंकहरु पनि खराब कर्जाको मारमा परेको देखिन्छ । यीनीहरुको खराब कर्जाको अुनपात पनि बढ्दो नै छ ।

हाल नेपाल बैंकको खराब कर्जा बढेर ४.८५ प्रतिशत पुगेको छ । यता, राष्ट्रिय वाणिज्य बैंकसँग ४.३० प्रतिशत र कृषि विकास बैंकसँग ३.३० प्रतिशत खराब कर्जा छ ।

गत आवको तेस्रो त्रैमासमा पनि राष्ट्रिय बैंक, नेपाल र कृषि विकास बैंकको खराब कर्जा क्रमशः ३.८८ प्रतिशत, ४.१६ प्रतिशत र ४.३५ प्रतिशत रहेको थियो ।

लाभांश क्षमता न्यून, नेपाल बैंकको वितरयायोग्य नाफा ऋणात्मक

समिक्षा अवधिमा बैंकहरुको लाभांश क्षमता न्युन देखिएको छ । नेपाल बैंकको वितरणयोग्य नाफा त झन् ऋणात्मक छ । बैंकको यस्तो नाफा १ अर्ब ४ करोड ६६ लाख ३३ हजार रुपैयाँ ऋणात्मक छ । यता, कृषि विकास बैंकको वितरणयोग्य नाफा २ अर्ब १२ करोड ८६ लाख र राष्ट्रिय वाणिज्य बैंकको २४ करोड ६३ लाख रुपैयाँ मात्रै छ । समिक्षा अवधिमा कृषि विकास बैंकले झन्डै ६ प्रतिशत हाराहारीमा लाभांश दिने क्षमता बनाएको छ । राष्ट्रिय वाणिज्य बैंकको १.५७ प्रतिशत मात्रै देखिएको छ।

प्रतिसेयर आम्दानी पनि खस्किँदो

सरकारी बैंकहरुको प्रतिसेयर आम्दानी पनि खस्किँदो नै छ । गत वर्षको तेस्रो त्रैमासमा साढे ३० रुपैयाँ रहेको राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी २० रुपैयाँ २५ पैसा कायम भएको छ । यस्तै, नेपाल बैंकको इपिएस पनि १६ रुपैयाँ १७ पैसाबाट घटेर १ रुपैयाँ १८ पैसामा झरेको छ । तर, कृषि विकास बैंकको भने ७ रुपैयाँ ९० पैसाबाट बढेर १७ रुपैयाँ ९३ पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्