पर्वतदेखि नेपाल बैंकको सीईओसम्मः मेरो ३२ वर्षे यात्रा र बदलिँदो अर्थतन्त्रको ऐना
प्रविधिको विकासले बैंकिङ प्रणालीलाई जति सहज र व्यावसायिक बनाएको छ, ग्राहकसँगको आत्मीय सम्बन्ध र व्यवसायको परम्परागत इमानदारितामा भने त्यति नै ह्रास ल्याएको छ।
तिलकराज पाण्डे
पर्वत जिल्लाको एउटा दुर्गम गाउँबाट एसएलसी पास गरेर जब म उच्च शिक्षाका लागि पोखरा हुँदै विसं २०३८ सालमा काठमाडौँ ओर्लिएँ, त्यति बेला मनमा एउटा राम्रो जागिर खाने सपना बाहेक अरू ठुलो महत्त्वाकाङ्क्षा थिएन।
गाउँमा टेलिफोन र मोबाइलको सुविधा नभएको त्यो जमानामा चिठी पत्र र आउने-जाने मानिसकै भरमा घरबाट पैसा मगाउनुपर्ने बाध्यता थियो। शंकरदेव क्याम्पसमा बीकम पढ्दै गर्दा साथीहरूको लैलैमा लागेर मैले नेपाल बैंकको विज्ञापनमा फारम भरेँ र भाग्यवश नाम पनि निस्कियो।
विसं २०४० को दशकको त्यो सुरुवातमा ५५० रुपैयाँ महिनाको तलब पाउने गरी सिनियर असिस्टेन्ट (वरिष्ठ सुब्बा) पदबाट मैले सुरु गरेको मेरो बैंकिङ यात्राले आज ३२ वर्ष पार गरिसकेको छ। बागबजारमा निजामती सेवामा रहेका आफ्ना दाइ म्यानेजरसँग एउटै कोठा बाँडेर बिताएका ती दिनहरू र एक रुपैयाँ ५० पैसामा खसीको मासु र चिउरा खाइने त्यो जमाना मेरा लागि सधैँ स्मरणयोग्य रहनेछन्।
त्यति बेला साइकल चढ्नु नै आजको कार चढ्नु सरह विलासिता मानिन्थ्यो।

नेपाल बैंकमा सेवा सुरु गर्दा देशमा बैंक भन्नु नै यही एउटा संस्था जस्तो मात्र थियो र यसका करिब २०० देखि २२५ वटा शाखाहरू थिए। जागिरकै सिलसिलामा मैले काठमाडौँ बाहिर पाल्पा, चितवन, वीरगन्ज र विराटनगर जस्ता धेरै ठाउँमा पुगेर काम गर्ने अनुभव बटुल्ने अवसर पाएँ।
विसं २०४७ को जनआन्दोलन ताका म वसन्तपुर शाखामा कार्यरत थिएँ । त्यहाँ भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र म एउटै छैटौँ तहका अधिकृतका रूपमा सँगै काम गर्थ्यौँ। मीनबहादुर बैंकको काममा मात्र होइन आफ्नो व्यापार पनि हेर्न भ्याउँथे । अफिस छुटेपछि न्युरोडका पसल पसल चहारेर उनी आफ्नो भाटभटेनीको पसलको लागी बाइकमा सामान बोकेर घर जान्छे । पछि विसं २०५०–५१ तिर जागिर छाडेर व्यवसायमा पूर्ण रूपमा लागे।
आफू साधारण कर्मचारीबाट आन्तरिक प्रतिस्पर्धा र मेहनत गर्दै डेपुटी सिइओ र अन्ततः सञ्चालक समिति (बोर्ड) को निर्णयबाट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जस्तो गरिमामय नेतृत्व तहमा पुग्दा मलाई गौरवको अनुभूति त हुन्छ, तर यस पदसँगै आउने मानसिक तनाव र जिम्मेवारीले त्यो खुसीलाई कति बेला ओझेलमा पारिदिन्छ, पत्तै हुँदैन।
मैले आफ्नो करियरमा पुरानो परम्परागत बैंकिङ र आजको अत्याधुनिक प्रविधिमैत्री बैंकिङ दुवैलाई नजिकबाट नियाल्ने मौका पाएको छु। विगत र वर्तमानको बैंकिङ प्रणालीमा आकाश-जमिनको फरक आइसकेको छ। पहिलेको बैंकिङमा हामी ऋण लिने ग्राहकको घर, व्यवहार र उनको वास्तविक हैसियत व्यक्तिगत रूपमै राम्रोसँग चिन्दथ्यौँ, तर आज मान्छेभन्दा बढी केवल कागजपत्र मात्र हेरिन्छ।
हिजोका दिनमा राइस मिल चलाउन ५-१० लाख रुपैयाँ ऋण लिने व्यवसायीहरू आज ५० करोडभन्दा बढीको पोर्टफोलियोमा काम गर्छन्। कतिपय साना व्यवसायीहरू आज अर्बौँको कारोबार गर्ने ठुला कर्पोरेट हाउस बनेका छन्, जसले सयौँलाई रोजगारी दिएका छन् र राज्यलाई कर तिरेका छन्। यस्तो प्रगति देख्दा एउटा बैंकरका रूपमा मलाई निकै गौरव लाग्छ।
तर, अर्कोतर्फ हिजोका व्यवसायीहरूमा जस्तो इमानदारिता र सामाजिक प्रतिष्ठाको डर आज हराउँदै गएको आभास हुन्छ। पहिले बैंकको एउटा चिठी घरमा पुग्दा पनि इज्जत गयो भन्दै डराउने व्यवसायीहरू अहिले त्यति गम्भीर देखिँदैनन्।

विगतमा परिबन्धवश वा बजारको उतारचढावका कारण मात्र कर्जा खराब हुने गर्थ्यो भने आजको चुनौती बिलकुलै फरक र गम्भीर छ। म सिइओको रूपमा आएको केही महिनादेखि नै देशको अर्थतन्त्र निरन्तर सुस्त गतिमा चलिरहेको छ। त्यसमाथि रसिया-युक्रेन युद्ध र इजरायल-हमास द्वन्द्व जस्ता अन्तर्राष्ट्रिय घटनाक्रमले पनि हाम्रो बजारलाई नराम्ररी प्रभावित पारेको छ।
अचम्मको कुरा के छ भने, अहिले बैंकहरूसँग लगानी गर्नका लागि पर्याप्त पैसा (तरलता) छ, तर बजारमा लगानी गर्ने उपयुक्त वातावरण र माग नै छैन। नयाँ सिमेन्ट वा स्टिल उद्योगहरू खुल्न सकेका छैनन् भने सञ्चालनमा रहेका होटेलहरू पनि मुस्किलले टिकिरहेका छन्। युवा जमात धमाधम विदेश पलायन भइरहेका कारण देशभित्र उत्पादन र उपभोगको माग दुवै ह्वात्तै घटेको छ।
देशको यो राजनीतिक र आर्थिक अस्थिरताले मलाई मात्र होइन, समग्र बैंकिङ क्षेत्रका सिइओहरूलाई नै ठुलो चिन्ता र दबाबमा पारेको छ। उद्योग र व्यवसायहरू संकटमा पर्दा बैंकहरूको लगानी डुब्ने र खराब कर्जा (एनपिएल) बढ्ने त्रास सधैँ रहिरहन्छ। यस्तो अवस्थामा म के ठान्दछु भने, अब सरकारले ठोस कदम चाल्न ढिला गर्नु हुँदैन।
सरकारले उद्योगी र व्यवसायीहरूको खस्किएको मनोबललाई उच्च बनाउन र बजारमा आत्मविश्वास जगाउनका लागि स्थिर, स्पष्ट र लगानीमैत्री नीतिहरू ल्याउनु आवश्यक छ। जबसम्म बजारमा लगानीकर्ताको आत्मविश्वास फर्किँदैन, तबसम्म बैंक र वित्तीय संस्थाहरू मात्र सुरक्षित रूपमा अघि बढ्न सक्दैनन्।













