नबिलले २०० एभोकाडोका बिरुवा रोपेर ‘ग्रिन विक’ समापन गर्यो
काठमाडौँ । नबिल बैंक लिमिटेडले दिगो बैंकिङ अभियानको पाँच वर्ष पूरा भएको अवसरमा सञ्चालन गरेको ‘नबिल ग्रिन विक–२०२६’ वृक्षारोपण कार्यक्रमसँगै सम्पन्न गरेको छ। साताव्यापी अभियानको अन्तिम दिन काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपिएको बैंकले जनाएको छ।
लुम्बिनी वर्ल्ड पिस फोरम नेपालको सहकार्यमा आयोजित वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, बैंकका कर्मचारी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। रोपिएका बिरुवाको संरक्षण वडा कार्यालयले गर्ने जनाइएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दिगो बैंकिङलाई केवल नीतिमा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले ‘नबिल ग्रिन विक’ आयोजना गरिएको बताउनुभयो। वृक्षारोपणसँगै वातावरण संरक्षण, स्थानीय समुदायको सहभागिता र दीर्घकालीन सहकार्यलाई बैंकले प्राथमिकता दिएको उहाँको भनाइ थियो। बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको भूमिका निर्णायक हुने उल्लेख गर्दै उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
बैंकका अनुसार ‘नबिल दिगो बचत खाता’ मार्फत ग्राहकलाई दिगो विकास अभियानसँग जोड्ने प्रयास भइरहेको छ। मानिस, पृथ्वी र समृद्धिलाई केन्द्रमा राखेर अघि बढाइएको दिगो बैंकिङ अवधारणाअन्तर्गत वातावरणीय संरक्षण, सामाजिक उत्तरदायित्व र समावेशी आर्थिक विकासलाई प्राथमिकता दिइएको छ।
पछिल्लो पाँच वर्षमा दिगो बैंकिङलाई बैंकको रणनीतिक प्राथमिकताका रूपमा विकास गरिएको जनाउँदै ज्ञवालीले नवीकरणीय ऊर्जा, कृषि, स्वच्छ यातायात, सूक्ष्म, साना तथा मझौला उद्यम, महिला उद्यमशीलता र पर्यटनलगायतका क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरिएको जानकारी दिनुभयो। बैंकले डिजिटाइजेसनलाई प्राथमिकता दिँदा पाँच वर्षमा २० मेट्रिक टनभन्दा बढी कागज बचत भएको उहाँले बताउनुभयो।
बैंकले हालसम्म नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, सूक्ष्म, साना तथा मझौला उद्यममा ४५ अर्ब ७७ करोड रुपैयाँ, महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ, स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड रुपैयाँ तथा डीडीएसएल कर्जाअन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।
उक्त लगानीबाट एक लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको, जसमध्ये ३१ प्रतिशत रोजगारी महिलाले पाएका बैंकको दाबी छ। साथै, पाँच वर्षको अवधिमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २५ करोड ६० लाख रुपैयाँ खर्च गरिएको तथा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपमार्फत एक हजार ५७७ जना उद्यमीलाई तालिम प्रदान गरिएको बैंकले जनाएको छ।
वातावरणीय प्रभाव न्यूनीकरणका क्षेत्रमा पनि बैंकले उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नवीकरणीय ऊर्जा आयोजनामा गरिएको लगानीका कारण पछिल्लो चार वर्षमा करिब ३९ हजार ४५० टन कार्बन उत्सर्जन घटाउन सहयोग पुगेको छ। त्यस्तै, डिजिटाइजेसन र स्वचालित प्रणालीको प्रयोगबाट वार्षिक दुई लाख ६२ हजार ८०४ लिटर पानी तथा करिब २० मेट्रिक टन कागज बचत भएको बैंकको भनाइ छ।
बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) प्रणालीलाई आफ्नो व्यवसायिक निर्णय प्रक्रियामा समावेश गर्दै वातावरण, समाज र सुशासन (ईएसजी) सम्बन्धी अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउँदै लगेको जनाएको छ। बैंकका कुल कर्मचारीमध्ये ३९.१५ प्रतिशत महिला रहेका छन् भने ५० जना महिलाले विभिन्न शाखा तथा रणनीतिक व्यवसायिक इकाइको नेतृत्व गरिरहेका छन्।
हाल नबिल बैंकले देशभर २६६ शाखा, ३१८ एटिएम तथा डिजिटल बैंकिङ सेवा ‘एनबैंक’मार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।













