श्याओमी नेपालद्वारा नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालन, « Arthapath.com
२२ असार २०८३, सोमबार

श्याओमी नेपालद्वारा नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालन,



काठमाडौं । श्याओमी नेपालले इटहरीको धरान लाइन र नारायणगढको लायन्स चोकमा नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार ग्राहकलाई अझ प्रभावकारी बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) उपलब्ध गराउने उद्देश्यले यी सेवा केन्द्र स्थापना गरिएको हो।

नयाँ सेवा केन्द्रमार्फत श्याओमीका स्मार्टफोन, स्मार्टवाच तथा फिटनेस ब्यान्डलगायतका वेयरेबल, इयरफोन तथा हेडफोनजस्ता हियरेबल र विभिन्न इन्टरनेट अफ थिङ्स उपकरणको मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। साथै, ग्राहकले श्याओमीका आधिकारिक तथा मौलिक स्पेयर पार्ट्स प्रयोग गरी गुणस्तरीय सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यी सेवा केन्द्रहरूको सञ्चालन रमेश कर्प अन्तर्गतको टेलिडाइरेक्ट प्रालिले गर्नेछ। टेलिडाइरेक्टले नेपालभर श्याओमीका उत्पादनका लागि आधिकारिक बिक्रीपछिको सेवा तथा ग्राहक सहयोग प्रदान गर्दै आएको छ।

नयाँ सेवा केन्द्र सञ्चालनको अवसरमा श्याओमी नेपालले छिट्टै ग्राहकका लागि विशेष प्रवर्द्धनात्मक योजना सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले यससम्बन्धी थप जानकारीका लागि आफ्ना आधिकारिक सामाजिक सञ्जाल तथा नजिकको सेवा केन्द्रसँग सम्पर्कमा रहन ग्राहकलाई आग्रह गरेको छ।

इटहरीस्थित सेवा केन्द्रमा ‘कस्टमर एक्सपिरियन्स जोन’ पनि स्थापना गरिएको छ। यस जोनमा ग्राहकले खरिदअघि नै श्याओमीका विभिन्न उत्पादन प्रत्यक्ष रूपमा हेर्न, प्रयोग गर्न र अनुभव गर्न सक्नेछन्। आधुनिक सुविधासहित निर्माण गरिएको उक्त जोनले परम्परागत सेवा केन्द्रभन्दा थप सहज, अन्तरक्रियात्मक र प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

उद्घाटन समारोहमा टेलिडाइरेक्ट प्रालिका महाप्रबन्धक दीपक श्रेष्ठले इटहरी र नारायणगढमा नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालन हुनु श्याओमीका ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले ग्राहकको विश्वास अझ मजबुत बनाउँदै नेपालभर श्याओमीको बिक्रीपछिको सेवा सञ्जाललाई थप विस्तार र सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कम्पनीका अनुसार नयाँ सेवा केन्द्रमा दक्ष तथा प्रशिक्षित प्राविधिकहरू रहेका छन्, जसले श्याओमीको आधिकारिक सेवा मापदण्डअनुसार सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्या समाधानसम्मको सेवा प्रदान गर्नेछन्। श्याओमीका ग्राहकले यी सेवा केन्द्रबाट छिटो, भरपर्दो र विशेषज्ञ प्राविधिक सहयोग प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्