नाइमा अटो शो २०२६ को तयारी तीव्र: ५३ ब्रान्ड सहभागी हुने, अपाङ्गमैत्री हलको व्यवस्था
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ’नाडा अटो शो २०२६’ को तयारी तीव्र पारिएको छ । नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार हाल नाडामा थप २६ कम्पनी सदस्यका रूपमा सहभागी भएका छन्, जसले अटोमोबाइल क्षेत्रको बढ्दो आकर्षणलाई देखाउँछ ।
यस पटकको शोलाई थप समावेशी र प्रविधिमैत्री बनाउन लागिएको आयोजकले जनाएका छन् ।
नाइमा अटो शो २०२६ का संयोजक गौरव सारडाका अनुसार यस पटक प्रदर्शनीका सबै हलहरू ह्विलचेयरमैत्री हुनेछन् । ह्विलचेयरको प्रयोग गरेर सहजै सबै स्टलहरू घुम्न सकिने व्यवस्था मिलाइएको छ ।
शोमा विभिन्न विधाका ५३ वटा ब्रान्डहरूको उत्साहजनक सहभागिता रहनेछ । मेलाको सह–प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ । बैंकका डीसीईओ सुमन पोखरेलले अचेलका ग्राहकहरूले धेरै प्रविधियुक्त र आधुनिक सवारी साधन खोज्ने गरेको बताउँदै मेलामा आउने ग्राहकका लागि बैंकले विशेष र आकर्षक अफरहरू ल्याउने घोषणा गरेका छन् ।
यो अटो शो गाडी विलासिता मात्र नभएर आवश्यकता र आधुनिक प्रविधिको उत्सव हुने अपेक्षा गरिएको छ ।













