नाडेप लघुवित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सोमबार धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा सम्पन्न भएको छ।
सभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दीर्घबहादुर अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
अध्यक्ष आचार्यले हाल वित्तीय क्षेत्रमा केही प्रतिकूल अवस्था रहे पनि आगामी दिनमा परिस्थिति सहज बन्दै जाने विश्वास व्यक्त गरेँ।। उहाँले संस्थाले ग्राहक सदस्यलाई अझ गुणस्तरीय सेवा प्रदान गर्दै शेयरधनीको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेँ। साथै, नेपाल राष्ट्र बैंकबाट जारी हुने आगामी नीति तथा निर्देशनहरू लघुवित्तमैत्री हुने अपेक्षा पनि व्यक्त गरेँ।
उहाँले संस्थाको प्रगति र उन्नतिमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग, सल्लाह र प्रोत्साहन प्रदान गर्ने सम्पूर्ण शेयरधनी, ग्राहक, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड, बैंक तथा वित्तीय संस्था, लेखापरीक्षक, दातृ निकाय तथा संस्थाका सम्पूर्ण कर्मचारीप्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेँ। आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको उहाँले बताए।
साधारणसभाबाट संस्थागत तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकहरूको निर्वाचन पनि सम्पन्न भएको छ। संस्थागत शेयरधनीको तर्फबाट नबिल बैंक लिमिटेडका प्रतिनिधि टेकराज भट्ट, लुम्बिनी विकास बैंक लिमिटेडका प्रतिनिधि भेषराज गौतम, डिप्रोक्स–नेपालका प्रतिनिधि कृष्णप्रसाद न्यौपाने तथा संस्थापक शेयरधनीका तर्फबाट डा. भृगुऋषि दुवाडी निर्वाचित भएका छन्। त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट सीता लुइँटेल निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ।
संस्थाले २०८३ साल जेठ मसान्तसम्म ८८ शाखामार्फत करिब ८० हजार ग्रामीण तथा विपन्न महिलालाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। समीक्षा अवधिसम्म संस्थाको ८ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी कायम रहेको, सदस्यहरूको बचत २ अर्ब २० करोड रुपैयाँ पुगेको तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ७९ करोड रुपैयाँ कर्जा परिचालन भएको संस्थाले जनाएको छ।













