कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा सो बराबरको रकम लगानी गर्न लागेको हो ।
आगामी फागुन ६ गतेदेखि लागू हुनेगरी २०८२ फागुन ६ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।
कुल लगानीमध्ये वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ लगानी गर्ने भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरु १ करोड २५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ २९ गते १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।