सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने सरकारी लक्ष्यले पूर्णता पायो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साईपाल गाऊँपालिका वडा नं. १ स्थित धलौनमा बैंकिङ शाखा उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
साइपाल गाउँपालिका बैंकिङ पहुँच पुग्ने अन्तिम स्थानीय तह हो । भोगोलिक विकटताले गर्दा लामो समयसम्म उक्त पालिका बैंक पुग्न सकेको थिएन । सो गाउँपालिकामा एभरेष्ट बैंकले शाखा बिस्तार गरेको हो ।
गभर्नर अधिकारी अब सानेतिनो बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपाल बासीको बाध्यताको अन्त्य भएको बताए । उनले अन्य सुविधाहरु पनि बिस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास व्यक्त गरे ।
भौगोलिक तथा पूर्वाधार विकासको हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७,८ घण्टा को पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोलि सञ्चालन ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा एभरेष्ट बैंकले खुशी व्यक्त गरेको छ । बैंकले यस कार्यमा सहयोग गर्नु हुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालीकाप्रती विशेष धन्यवाद व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ ,नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
माघ २८ गतेका दिन औपचारीक रूपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।