बैंकिङ प्रणालीकाे अधिक तरलता व्यवस्थापन गर्न १५ अर्बको ऋण जारी गर्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले आजै असार २९ गते यो ऋणपत्र निष्कासन गर्न लागेको हो। यस ऋणपत्र खरिदका लागि आज मध्याह्न ३:०० बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत मात्र बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ, जसमा बहुब्याजदरमा समेत बोलकबोल गर्न सकिने सुविधा रहेको छ।
यो ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सक्नेछन्।
आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदर निर्धारण गरिनेछ र सोही एकल ब्याजदर वा सोभन्दा कम बोल गर्नेहरूलाई ऋणपत्र बिक्री गरिनेछ। यदि समान ब्याजदरमा बोल गर्नेहरूको रकम कुल निष्कासित रकमभन्दा बढी भएमा सो ब्याजदरको रकमलाई समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।
आह्वान गरिएको बोल रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने पूर्ण अधिकार भने खुला बजार कारोबार सञ्चालन समितिमा सुरक्षित रहनेछ।
यो एक वर्ष अवधिको ऋणपत्र हो, जसको साँवा भुक्तानी असार २९ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।













