भोलि मौद्रिक नीति जारी गर्ने राष्ट्र बैंकको तयारी, गभर्नरले बोलाए विहान साढे ८ बजे बोर्ड बैठक « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

भोलि मौद्रिक नीति जारी गर्ने राष्ट्र बैंकको तयारी, गभर्नरले बोलाए विहान साढे ८ बजे बोर्ड बैठक



काठमाडौं । मौद्रिक नीति कुरेर बसेका सरोकारवालाको लामो प्रतीक्षापछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भोलि शुक्रबार विहान साढे ८ बजेका लागि सञ्चालक समितिको बैठक डाकेका छन् । सरकारले बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर परिमार्जन गर्ने भनेपछि राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्न हच्केको थियो ।

साउन पहिलो साता नै केन्द्रिय बैंकले मौद्रिक नीति तयार पारिसकेको बताएको थियो । तर असार अन्त्यमा सरकार परिवर्तन भएपछि गभर्नर अधिकारी उक्त नीति सार्वजनिक गर्ने साइत कुरेर बसेका छन् । हालैमात्र सरकारले वर्तमान आर्थिक अवस्थाबारे चित्रण गर्ने र भावि कार्यदिशा पहिल्याउने दस्तावेजहरु सार्वजनिक गरेको छ ।

सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रमको सूची पनि सार्वजनिक गरिसकेको छ । संसदको अर्थ समितिले पनि आफ्ना तर्फबाट मौद्रिक नीतिमा सुझाव दिइसकेको छ । यी सबै दस्तावेजलाई आधार मानेर आवस्यक परिमार्जन सहित अब चाँडै मौद्रिक नीति जारी गर्ने मनसायमा गभर्नर पुगेको बुझिएको छ ।

भ्याएसम्म शुक्रबार, नभए पनि साउनभित्रै मौद्रिक नीति जारी गर्ने तयारीमा गभर्नर लागेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्