अर्थतन्त्रको तथ्याङ्कः बाह्य क्षेत्रमा निरन्तर सुधार, रेमिट्यान्सले बढायो विनिमय सञ्चिति, सोधानान्तर स्थिति पनि मजबुत « Arthapath.com
२७ बैशाख २०८०, बुधबार

अर्थतन्त्रको तथ्याङ्कः बाह्य क्षेत्रमा निरन्तर सुधार, रेमिट्यान्सले बढायो विनिमय सञ्चिति, सोधानान्तर स्थिति पनि मजबुत



काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनामो आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

पछिल्लो समय विदेशी विनिमय सञ्चिति बढ्न थालेको छ । चालु आवको चैत मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । जुन गत २०७९ असार असार मसान्तसम्मको तुलनामा १७.९ प्रतिशतले बढी हो । गत वर्षको असार मसान्तसम्ममा विदेशी सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो । तर, २०७९चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भएको छ । योसंगै सो अवधिमा यस्तो सञ्चिति १० अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ ।
चालु आवको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स वृद्धि, विदेशी विनिमय सञ्चिति वृद्धि, सोधानान्तर स्थिति बचत लगायतका सुचकमा सकरात्मक सुधार आएको छ ।

शोधानान्तर स्थिति १८० अर्ब बचतमा, चालु खातामा घाटामा
समीक्षा अवधिमा चालु खाता घाटामा देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.० प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

रेमिट्यान्समा नयाँ रेकर्ड, एक महिनामै १ खर्ब ९ अर्ब भित्रियो
रेमिट्यान्स (विप्रेषण आप्रवाह) मा नयाँ रेकर्ड कायम भएको छ । एक महिनामै १ खर्ब ९ अर्ब रुपैयाँले बढेको छ ।
चालु आवको चैत मसान्तसम्ममा रेमिट्यान्स ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । जुन गत फागुन ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको चैत मसान्तसम्मको अवधिमा भने रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरलमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

खुम्चियो आयात र निर्यात
चालु आवको ९ महिनामा आयात र निर्यात दुवै खुम्चियो छ । समिक्षा अवधिमा कुल वस्तुको निर्यात २६.३ प्रतिशतले कमी देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा कुल वस्तुको निर्यात १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५.१ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैचा, तयारी पोशाक
लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

समिक्षा अवधिमा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आएको छ । चालु आवको चैत मसान्तसम्ममा १२ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको कुल वस्ुत आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।

समिक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आई १० खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०१ अर्ब ६७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१६७ अर्ब ५३ करोड बराबरको भएको थियो ।


प्रतिक्रिया दिनुहोस्