जेठको ताप, नेप्सेलाई फलिफाप: सातामा ८२ अंक नेप्से उक्लिँदा लगानीकर्ताको सम्पत्ती २ खर्ब बढ्यो « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

जेठको ताप, नेप्सेलाई फलिफाप: सातामा ८२ अंक नेप्से उक्लिँदा लगानीकर्ताको सम्पत्ती २ खर्ब बढ्यो



काठमाडौं । अहिले बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिने क्रम बढेको छ । गत ९ जेठको तथ्यांकलाई आधार मान्ने हो भने बैंंक तथा वित्तीय संस्थासँग करीब ५५ खर्ब निक्षेप रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपातको आधारमा अहिले नै बैंकहरुले कम्तिमा २ खर्ब ८४ अर्ब रुपैयाँ तत्काल कर्जा लगानी गर्नसक्ने अवस्था भएको छ । बैंकमा तरलता थुप्रिन थालेको र राष्ट्र बैंकले पनि समानुपातिक रुपमा ऋणको ब्याजदर घटाउनु पर्ने कानूनी व्यवस्था गरेका कारण ब्याजदर घट्दो क्रममा छ ।

अहिले बैंकहरुले ब्याज घटाउन थालिसकेका छन् । व्यवसायीलाई ऋण लिगिदिन बैंकरको फोन आउन थालेको छ । बैंकरहरु ऋणीको खोजिमा लागेका कारण भविष्यमा ब्याजदर अझ कम हुने सहज अनुमान गर्न सकिन्छ । त्यसो त, भारतमा २ हजार दरका भारु नोट प्रतिबन्ध लागेसँगै नेपाल नोटको खपत बढेको देखिएको छ । यही कारण बैंकको निक्षेप केही कम भएको देखिए पनि अझै बैंकसँग भएको पैसा नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन सघाउँछ ।

त्यसमाथि करीक आधा खर्ब रुपैयाँ बराबरको पुनरकर्जा ल्याउने र अल्पकालिन तथा ५ करोडसम्मका ऋणलाई पुन:संरचना र पुन:तालिकीकरण गर्ने सुविधाले पनि लगानीकर्तासँग तरल सम्पत्तीको उपलब्धता बढेको छ । यसले बजारमा पैसाको उपलब्धता बढ्ने देखिएको छ । रेमिटेन्समा भएको तारन्तारको बृद्धिले पनि तरलता बढाउने मार्ग प्रसस्त गरिरहेको छ । यिनै कारण र सुधारका छनक देखेपछि अहिले सस्तो भाउमा पाइने सेयर किनेर तुरुन्तै उच्च लाभ पाउने आशामा लगानीकर्ता उत्प्रेरित भएका छन् ।

यसले सेयर बजारमा कारोबार र मूल्य दुबै बढेको छ । नेप्से करीब १ वर्षदेखि १८ सयदेखि २२ सय अंकबीचको ‘साइडवेज’ मुभमेण्टमा देखिएको छ । यसले पनि अव सेयर बजारले उकालो बाटो समात्ने समय आएको देखाउँछ । तर अघिल्ला चक्रहरुको प्रबृत्तीलाई नियाल्ने हो भने अहिलेको बृद्धि एक विन्दुमा पुगेर कम्तिमा एक पटक ठूलो करेक्सन आएपछिमात्रै बजारले लामो समय उकालो यात्रामा जाने बाटो तय गर्नसक्छ ।

गत जेठ १ गते सेयर बजार परिसूचक २१ महिनाकै न्यूनतम विन्दुमा दोस्रोपटक फर्किएको थियो । त्यसयता नेप्से उकालो यात्रामा छ । यो साता पनि नेप्सेमा अनवरत बृद्धि देखिएको छ । बढ्दो प्रबृत्तीको सेयर बजारलाई चुलिँदो कारोबार रकमले पनि बलियो ढाडस दिएको छ । यसले नेप्सेलाई नयाँ बृद्धिको बाटोमा जान संकेत गरेको भए पनि नेप्से बुलिश प्रबृत्तीमा फर्किन भने २२ सय ५० अंकभन्दा माथि जानुपर्ने आवस्यकता छ ।

यो साता सेयर बजार सूचक नेप्से लगातार उकालो यात्रामा देखियो । सातामा चार दिन कारोबार भएकोमा चारै दिन नेप्से बढ्दो प्रबृत्तीमा रह्यो । जेठ २ गतेदेखि उकालो यात्रामा लागेको सेयरबजारमा त्यसयता लगातार बढेर नेप्सेले १ सय ४१ अंकको बृद्धि निकालिसकेको छ । यो सातामात्रै सेयर बजार सूचक करीब २ अंक बढेको छ । गत साता १ सय ७७ अंकमा रोकिएको नेप्से यो हप्ता १९ सय ५९ अंकमा बन्द भएको छ । यसबीच नेप्सेले १८ सय ६६ देखि १९ सय ६२ सम्म करीब ९७ अंकको उतारचढाव भोगेको छ ।

परिसूचकमात्रै होइन, यो साता नेप्सेमा कारोबार रकम पनि उच्च दरमा बढेको छ । यसअघि ६०–७० करोडसम्म झरिसकेको नेप्सेको दैनिक कारोबारको आकार यो साता २ अर्ब नाघेको छ । साताका चार दिन कारोबार हुँदा औसतमै हरेक दिन १ अर्ब ७० करोड हाराहारीको कारोबार रकम नेप्सेमा लामो समयपछि देखिएको हो ।

नेप्सेको बजार पूँजीकरणमा पनि उसरी नै सुधार भएको छ । जेठ १ गते नेप्सेले पुन: न्यूनतम विन्दु बनाएर १८ सय १८ अंकमा टेवा लिँदा नेप्सेको बजार पुँजीकरण २६ खर्ब ५१ अर्बमा झरेको थियो । अहिले यही पुँजीकरण २८ खर्ब ५८ अर्ब नाघेको छ । यो सातामात्रै सेयर बजारका लगानीकर्ताको कुल सम्पत्ती २ खर्ब ६ अर्बभन्दा धेरै बढेको छ ।


प्रतिक्रिया दिनुहोस्