नेपालीको उच्च सुन मोह: १० वर्षमा २३० अर्बको ४५ हजार ७७९ केजी सुन नेपाल भित्रियो « Arthapath.com
११ श्रावण २०८०, बिहीबार

नेपालीको उच्च सुन मोह: १० वर्षमा २३० अर्बको ४५ हजार ७७९ केजी सुन नेपाल भित्रियो



काठमाडौं । नेपालीको सुन मोह निकै उच्च देखिएको छ । पछिल्लो १० वर्षको अवधिमै नेपालमा २ खर्ब बढीको सुन भित्रिएको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार १० वर्षमा २ खर्ब ३० अर्ब ३५ करोड ६७ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।

आर्थिक वर्ष २०७०/७१ वर्षदेखि गत आर्थिक वर्ष २०७९/८० सम्म आईपुग्दा सो रकम बराबरको सुन आयात भएको विभागले जनाएको छ । १० वर्षमा ४५ हजार ७७९ केजी सुन नेपाल भित्रिएको छ । यो नेपालमा वैधानिक रुपमा आयात भएको सुनको तथ्याङ्क हो ।

तर, अवैध रुपमा भित्रने सयौं केजी सुनको भने तथ्याङ्क छैन । उत्तरी नाकाबाट सयौं किलो सुन अवैध रुपमा भित्रने र स्वरुप परिवर्तन गरि बाहिर जाने गरेको पनि बताइन्छ । यद्यपि, पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ठुलो परिमाणमा सुन बरामद गरेको छ । कार्यालयले एक क्विन्टल बढी सुन बरामद गरेको हो । अवैध रुपमा सुन भित्र्याउने योजनाकारको अझै पत्तो नलागे पनि विभागको घटना छानविन र खोजी कार्य जारी नै छ ।

तर, भन्सार विभागको वैधानिक तथ्याङ अनुसार भने नेपालमा वार्षिक नेपाली औसतमा २३ अर्ब ३ करोड ५६ लाख रुपैयाँ बराबरको सुन खरिद गरेका छन् । सुन आयातमा वर्षेनी सो बराबरको रकम बाहिरिने गरेको हो । विलासी अनुत्पादक साधन सुन नै नेपालीको मोह उच्च देखिएको हो । हाल नेपालमा युएई, टर्की, स्वीटजरल्याण्ड लगायतका देशबाट सुन आयात हुने गरेको छ । नेपालमा आयात हुने सुनको ९० प्रतिशतभन्दा बढी हिस्सा युएईको छ ।

विभागका तथ्याङ्क अनुसार गत आवमा कुल २ हजार ९१६ केजी सुन आयात भएको छ । गत आवको असार मसान्तसम्ममा २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । विलासीता वस्तुको आयात नै उच्च मात्रामा हुने गरेको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने गत आवमा सुन आयात घटेको देखिएको छ ।

विशेषगरि सरकारले सुन आयातमा कोटा तोकेपछि गत आवमा सुन आयात घटेको हो । विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै राष्ट्र बैंकले दैनिक १० केजी सुन मात्रै आयात गर्न दिएको छ । यसअघि २० केजी सुन दैनिक रुपमा आयात हुँदै आएको थियो । अघिल्लो आवको तुलनामा गत असार मसान्तसम्ममा १३ अर्ब २६ करोड ४९ लाख रुपैयाँले कमी हो ।

अघिल्लो आवमा ३५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ बराबरको ५ हजार ५३ केजी सुन आयात भएको विभागले जनाएको छ । जुन पछिल्लो १० वर्ष यताकै उच्च आयात हो । सो आवमा सुन आयातबाट सरकारले ४ अर्ब २९ करोड ५० लाख रुपैयाँ बढी राजश्व संकलन गरेको थियो ।

१० वर्षमा सुन आयातबाट सरकारले २३ अर्ब बढी राजश्व प्राप्त गरेको छ । आव २०७०/७१ मा २४ अर्ब ७९ करोड ४० लाख रुपैयाँ बराबरको ६ हजार १९९ केजी, आव २०७१/७२ मा ६ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरको १ हजार १०३ केजी, आव २०७२/७३ मा १६ अर्ब ७ करोड ९५ लाख रुपैयाँ बराबरको ४ हजार १६५ केजी सुन नेपाल भित्रिएको थियो ।

आवमा २०७४/७५ मा भने सुन आयात बढेको देखिएको छ । सो आवमा ३१ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ बराबरको ७ हजार २३२ केजी सुन आयात भएको थियो । यस्तै, आव २०७५/७६ मा पनि थप बढेर ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँ बराबरको ७ हजार ४८२ केजी सुन आयात भएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आव २०७६/७७ मा भने सुन आयात घटेको देखिएको छ । सो आवमा १३ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको २ हजार ४०० केजी सुन आयात भएको थियो । विभागका अनुसार आव २०७७/७८ मा भने २२ अर्ब ६ करोड २१ लाख रुपैयाँ बराबरको ३ हजार १६८ केजी सुन नेपाल भित्रिएको थियो ।

कुन वर्ष कति सुन आयात ?

स्रोत: भन्सार विभाग, रकम रु. हजारमा


प्रतिक्रिया दिनुहोस्