निरन्तर सुधारिँदै बाह्य क्षेत्र: झण्डै ३ खर्ब बचतमा शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब पुग्यो « Arthapath.com
१ भाद्र २०८०, शुक्रबार

निरन्तर सुधारिँदै बाह्य क्षेत्र: झण्डै ३ खर्ब बचतमा शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब पुग्यो



काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सकारात्मक सुधार देखिएको छ । गत वर्ष शोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि झन्डै तीन खर्ब बचतमा देखिएको छ । 

नेपाल राष्ट्र शुक्रवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो । 

गत वर्ष शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । तर, अघिल्लो वर्ष भने शोधनान्तर स्थिति साढे दुई खर्ब भन्दा बढी घाटामा रहेको थियो । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार अघिल्लो वर्ष यस्तो स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको थियो अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत वर्ष भने २ अर्ब २१ करोडले बचतमा रहेको देखिएको छ । 

विशेषगरि गत वर्ष रेमिट्यान्स आप्रवाह दोहोरो अङ्कले बढेको छ, जसले शोधनान्तर स्थिति बचतमा गएको हो । गत वर्ष रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसका साथै आयात १६.१ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । रेमिट्यान्स आप्रवाह वृद्धि र आयात घटेपछि नै शोधनान्तर स्थिति बचतमा गएको हो ।

यस्तै, पछिल्लो समय विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । गत वर्षको तुलनामा कुल विदेशी विनिमय सञ्चिति  पनि दोहोरो अङ्क अर्थात् २६.६ प्रतिशतले बढेको छ । अघिल्लो असार मसान्तसम्म यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । तर, गत असार मसान्तसम्म आई पुग्दा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति अघिल्लो असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको  रहेको थियो । गत २०८० असार मसान्तसम्म आई पुग्दा भने २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेको थियो । तर, २०८० असार मसान्तमा आई पुग्दा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । 

बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।  

गत आव २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ । गत आवको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्