उद्योगहरुलाई डेडिकेटेड/ट्रंक लाइन वक्यौता महशुल तिर्ने समय एक महिना थपियो « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

उद्योगहरुलाई डेडिकेटेड/ट्रंक लाइन वक्यौता महशुल तिर्ने समय एक महिना थपियो



काठमाडौं । डेडिकेटेड/ट्रंक लाइन वक्यौता महशुल तिर्न नेपाल विद्युत प्राधिकरणले एक महिनाको समय थप गरेको छ ।

डेडिकेटेड र ट्रंक लाइन प्रयोगबाट विद्युत उपभोग गरेका उद्योगीलाई वक्यौता महशुल भुक्तानी असोज ३० गतेसम्मको म्याद दिइएको हो ।

लामो समयसम्म मौन बसेको विद्युत प्राधिकरणले पुन: डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महशुलको बक्यौता उठाउने ताकेता गरिरहेको छ । यसअघि भदौ १७ गते सार्वजनिक सुचना जारी गर्दै उद्योगीहरुलाई त्यसबापतको बक्यौता तिर्न तोकेता गरेको थियो ।

सार्वजनिक सूचना मार्फत १५ दिन भित्र महुशल बुझाउनुपर्ने उल्लेख गरेको थियो । तर, तोकिएको समयसीमा अपर्याप्त भएको भन्दै म्याद थप गरिएको प्राधिकरणले जनाएको छ। उद्योगी व्यवसायीहरुले पनि १५ दिनमै सो बराबरको वक्यौता महशुल बुझाउन नसकिने भन्दै म्याद थपको माग राख्दै आएको थिए । बक्यौता नतिरे लाइन काट्ने लगायतका कारवाही गर्ने प्राधिकरणले चेतावनी समेत दिएको थियो ।

डेडिकेटेड तथा टं्रक लाइन प्रयोग गरेबापत उद्योगीहरुले १९ अर्ब ९५ करोड रुपैयाँ महशुल तिर्न बाँकी छ । जुन, रकम प्राधिकरणले उद्योगहरुबाट असुल गर्नपर्ने भनेर महालेखा परिक्षणले आफ्नो प्रतिवेदनमा निरन्तर उल्लेख गर्दै आएको पनि छ । उद्योगीहरुले २०७२ सालदेखिको विजुलीको पैसा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले पटक पटक सूचना निकालेर पैसा तिर्न भन्दै आएको थियो ।

प्राधिकरणको पछिल्लो चेतावनीसहितको सूचना प्रकाशनपछि उद्योगी व्यवसायीहरु प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसमक्ष गुनासो गर्न पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले भने ‘केही व्यवसायीले विजुली प्रयोग गरेर पनि पैसा नतिरेको र केहीले विजुली प्रयोग नै गरेको पाइएको’ भन्दै यसबारे सरकारले नै अध्ययन गरिरहेको बताए । प्रधानमन्त्रीले सरकारको अध्ययन नसकिउञ्जेल उद्योगमा ‘लाइन नकाटिने’ आस्वासन व्यवसायीहरुलाई दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्