नेपाल भित्रने रेमिट्यान्स २५ प्रतिशत बढ्यो, ६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब « Arthapath.com
२३ माघ २०८०, मंगलवार

नेपाल भित्रने रेमिट्यान्स २५ प्रतिशत बढ्यो, ६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब



काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) दोहोरो अंकले बढेको छ । ६ महिनामा झण्डै साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यास नेपाल आएको हो । जुन गत आवको सोही अवधिको तुलनामा २५.३ प्रतिशत बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्