आयात संकुचनले थप बलियो बन्दै विदेशी मुद्रा सञ्चिति, राष्ट्र बैंकको ढुकुटीमा कति जम्मा भयो विदेशी मुद्रा ? « Arthapath.com
२३ माघ २०८०, मंगलवार

आयात संकुचनले थप बलियो बन्दै विदेशी मुद्रा सञ्चिति, राष्ट्र बैंकको ढुकुटीमा कति जम्मा भयो विदेशी मुद्रा ?



काठमाडौं । पछिल्लो समय आयातमा देखिएको संकुचन विदेशी मुद्राको सञ्चितिमा थप सुधार आएको छ । ६ महिनामै मुलुकको विदेशी मुद्रा सञ्चितिमा सवा १८ खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धीको तथ्याङ्कले यस्तो देखाएको हो । गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । तर, पुस मसान्तसम्म आइपुग्दा भने १८ प्रतिशत बढेर १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । तर, पुस मसान्तसम्ममा भने १६.९ प्रतिशत बढेर १३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । तर, पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत पुस मसान्तमा ११.८ प्रतिशत वृद्घि भई २ खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ । पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

चालु आवको पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमश: २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेको थिए ।


प्रतिक्रिया दिनुहोस्