नुनको भाउ बढाउँदा पनि सरकारलाई किन घाटा ? « Arthapath.com
२४ असार २०८१, सोमबार

नुनको भाउ बढाउँदा पनि सरकारलाई किन घाटा ?



काठमाडौँ । नेपालमा नुन आयात गरेर विक्री गर्ने अनुमति पाएको सरकारी कम्पनी ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ले गत बुधबारबाट लागू हुने गरी नुनको मूल्य बढाएको छ ।

नयाँ मूल्य समायोजनपछि अब ‘आयो नुन’को भाउ प्रतिकिलो २० रुपैयाँबाट बढेर २६ रुपैयाँ पुर्याइएको छ । ‘न्यू शक्ति’ नुनको भाउ १७ बाट बढाएर २० रुपैयाँ र भानु नुन प्रतिकिलो ९ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । डिलरलाई बेच्दा ५० किलोको १ बोरा ‘आयो नुन’ ११५० मा बेच्ने भनेर कम्पनीको सञ्चालक समितिले निर्णय गरेको छ ।

यसरी किलोमा डिलरलाई साल्ट ट्रेडिङले प्रतिकिलो २३ रुपैयाँका दरले नुन बेच्ने भनेको छ । भलै खुद्रा मूल्य २६ राखिएकाले यसले ब्यापारीहरुलाई बढी मूल्य अशुल गर्न सजिलो पर्ने भनेर उपभोक्ता अधिकार कर्मीहरुले बताइरहेका छन् ।

यसअघि नै खुद्रा मूल्य २० हुँदा समेत शहरी क्षेत्रकै अधिकतर खुद्रा पसलमा २५ रुपैयाँ मूल्य तिर्नु परेकाले अब मूल्य बढेर ३० रुपैयाँ पुग्ने उनीहरु बताउँछन् । ढुवानी भाडामा बढी पैसा खर्चनु पर्ने दुर्गम इलाकामा त नुनको मूल्य निकै महँगो पर्ने छ ।

तर यसरी भाउ बढाउँदा पनि सरकारी कम्पनी साल्ट ट्रेडिङलाई अझै घाटा पर्ने बताइएका छ । कम्पनीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले अहिले पनि नुनको सबै खर्च समायोजन गर्दा प्रतिकिलो २८ रुपैयाँ पर्न आउने बताए ।

‘मूल्य समायोजन नगरेकोको भए विजोग नै हुने थियो । अहिले पनि २८ रुपैयाँमा बेच्न सक्ने अवस्था छ’, झा भन्छन्, ‘तर हामीले अहिले पनि २३ रुपैयाँमा बेचिरहेका छौँ । किलोमा ५ रुपैयाँ अझै घाटा छ ।’

कति पर्छ मूल्य ?

नेपालले नुनको आयात मूलतः भारतबाट गर्छ । चीन र पाकिस्तानबाट पनि आयात त हुन्छ, तर त्यसको मात्रा नगन्य छ । तसर्थ भारतीय बजारको मूल्यलाई आधार मान्न सकिन्छ ।

भारतको खुद्रा बजारमा कुनै पनि नुनको भाउ भारु. २० भन्दा सस्तो नभएको झा बताउँछन् । अधिकतर प्याकेट नुनको भाउ भारतमा २० रुपयेभन्दा माथि नै छ । तर इण्डियामार्टले प्रतिटन भारु. २४०० मा आयोडिनयुक्त नुन विक्रीमा राखेको छ । यस हिसाबले प्रतिकिलो मूल्य भारु २.४ (नेपाली मुद्रामा ३ रुपैयाँ ८४ पैसा) हुन्छ ।

साल्ट ट्रेडिङजस्ता थोक आयातकर्ताले नुन किन्दा सस्तो भाउमा खरीद गर्ने गरेका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा नेपालमा आयात भएको नुनको औसत मूल्यले भने इन्डियामार्टको भन्दा महँगो मूल्य तिरिएको देखाएको छ ।

भन्सारको तथ्यांकले औद्योगिक गतिविधीमा उपयोग हुने अखाद्य नुन प्रतिकिलो रू. १०.२४ का दरले आयात भएको देखिन्छ । सिधे नुन, वीरे नुनजस्ता काला नुनहरु औसत रू. ३२ का दरले आयात भएका छन् । अन्य नुनहरु प्रतिकिलो औसत रू. ९.४५ का दरले आयात भएको छ । यसमा आयो, शक्ति र भानु सबै ब्राण्डमा विक्री हुने नुन पर्छन् ।

साल्ट ट्रेडिङले ८ वर्षपछि मूल्य बृद्धि गरेको जनाएको छ । यो ८ वर्षको अन्तरालमा नुनको औसत आयात मूल्य भने प्रतिकिलो ३ रुपैयाँ २७ पैसामात्रै महँगिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

आजभन्दा ८ वर्षअघि अर्थात् २०७३ जेठसम्मको आँकडा हेर्ने हो भने नेपालले प्रतिकिलो औसत ६ रुपैयाँ १८ पैसामा नुन आयात गरेको देखिन्छ । त्यसबेला मासिक औसत १५,३९४ टन नुन आयात भएकोमा चालु आर्थिक वर्षमा मासिक औसत १८,५८६ टन आयात भएको देखिन्छ ।

फेरि कसरी भयो घाटा ?

सोझो हिसाबले हेर्दा ९ रुपैयाँ किलोमा नुन किनेर २३ रुपैयाँ किलोमा बेच्दा गज्जब फाइदा हुनु पर्ने हो । तर साल्ट ट्रेडिङले अहिले पनि किलोमै ५ रुपैयाँ घाटा देखाइरहेको छ । यसलाई प्रष्ट्याउँदै विभागीय प्रबन्धक झा भन्छन्, ‘नुनको गुणस्तर अनुसार लागत लाग्छ । तर यसको मूल्य धेरै पर्दैन ।’

बरु ढुवानीमा बढी खर्च हुने झा बताउँछन् । भारतमै भारु. ४ हाराहारी रेलको ढुवानी भाडा पर्ने उनी बताउँछन् । वस्तु आयात गर्दा हाम्रो भन्सर विन्दुसम्म ल्याइदिने जिम्मा निर्याकर्ताको भए पनि उनले यस्तो भाडामा खर्च हुने बताए ।

भन्सार नाकामा क्रेन फर्वाडिङ गर्न अर्को डेढ–दुई रुपैयाँ लाग्ने उनको दाबी छ । त्यसपछि रक्सौल वा भैरहवाबाट काठमाडौँसम्म ल्याउनका लागि अर्को ४ रुपैयाँ हाराहारी भाडा लाग्ने झा बताउँछन् । ‘प्याकिङको छुट्टै खर्च लाग्छ । बीमाको खर्च लाग्छ’, उनी भन्छन् ।

साल्ट ट्रेडिङले धनगढी, नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, विराटनगर र काठमाडौँमा गरी ६ वटा प्याकिङ युनिट सञ्चालन गरिरहेको छ । यी प्याकिङ युनिटमा नुन झारिन्छ र किलोकिलोका प्याकेट बनाएर विक्री गरिन्छ । यी सबै लागत जोड्दा नुनको भाउ महँगो पर्ने झाको तर्क छ ।

कति हुन्छ खपत ?

नेपालमा वार्षिक २ लाख २० हजार मेट्रिक टन हाराहारी नुन खपत हुने गरेको छ । तर यहाँ नुनको खपत मौसम अनुसार फरक पर्ने झा बताउँछन् । ‘आँपको सिजनमा अचार बनाउन ब्यापक मात्रामा नुन खपत हुन्छ’, उनी भन्छन्, ‘विहेवारीको मौसममा पनि नुनको खपत बढ्छ ।’

आँपको उत्पादन राम्रो भयो भने ६–७ हजार टन नुन अचार बनाउनमै खपत हुने उनी बताउँछन् । नेपालमा अहिले साल्ट ट्रेडिङले मात्रै नुन आयात गरेर बेच्छ । तर साल्ट ट्रेडिङकै नुन किनेर ‘रिप्याकेजिङ’ गर्दै निजी कम्पनीहरुले महँगोमा पनि बेचिरहेको झा बताउँछन् ।

यद्यपि, संविधानमा अत्यावस्यक वस्तुको आपूर्ति गर्ने दायित्व सरकारको भएको र जनस्वास्थ्यसँग पनि जोडिएको हुँदा नुनको आयात र विक्री वितरण गर्ने जिम्मा निजी क्षेत्रका लागि खुल्ला गरिनु नहुने उनको तर्क छ ।

कहाँबाट आउँछ नुन ?

पूर्वकालमा नेपालले भोटबाट नुन ल्याउने गरेको थियो । तर आधुनिक युगमा हामी पनि सामुद्रिक नुन खान्छौँ । नेपालले मूलतः नुन भारतबाट आयात गर्छ । चीन र अमेरिकापछि भारत संसारको तेस्रो ठूलो नुन उत्पादक हो ।

त्यसमा पनि भारतमा हुने कुल नुन उत्पादनको तीन चौथाई हिस्सा गुजरातमा उत्पादन हुन्छ । गुजरातका किसानले आफ्नो खेतमा जमाएको नुन प्रतिटन भारु. ४० देखि ५० का दरले बेच्छन् । १ हजार किलोको भारु. ४० पर्ने त्यही नुन प्रशोधन केन्द्रहुँदै बजारसम्म आउँदा किलोकै ४० रुपये हाराहारी पर्न आउँछ ।

यसबारेमा बीबीसी हिन्दी सेवाले नुन ‘खेतदेखि पेटसम्म’ कसरी पुग्छ भनेर एउटा रिपोर्ट बनाएको थियो । हाम्रो भान्साको अपरिहार्य वस्तु नुनको जीवनयात्राबारे यो सामग्री थुप्रै नेपालीहरुका लागि नौलो लाग्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्