‘घर बाहिरै रमाउने’ प्रबृत्ति झाँगिँदै, यसरी बढ्दै छ नेपालीको खर्च
काठमाडौँ । आजभन्दा १० वर्ष अघि नेपालीहरुले आफ्नो कुल वार्षिक खर्चको करीब एक तिहाई रकम घर (कोठा वा फ्ल्याट भाडा समेत), घरायसी सुविधा (बत्ति, पानी, फोहोर आदि) र खाद्यान्नमा खर्च गर्ने गरेका थिए । यसमा भुटुन (घ्यू तेल) तथा मसला समेत जोड्ने हो भने करीब ३६ प्रतिशत खर्च यत्तिमै हुन्थ्यो ।
तर अहिले समय फेरिएको छ । मान्छेहरुले यी सबै काममा गरेर आफ्नो कुल खर्चको २९.५१ प्रतिशतमात्रै खर्चिरहेका छन् । बरु उनीहरुको खर्च घर बाहिर खानपिन गर्ने र बाहिरै (होटेल, रिसोर्ट, गेस्टहाउसमा) बस्ने प्रयोजनमा ज्यादा हुन थालको छ ।
नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकांकको आँकडाले यस्तो देखाएको हो । देशभरका ९ हजार ६०० घरपरिवारको वार्षिक खर्च विवरण संकलन गरेर उक्त तयार पारिएको प्रतिवेदनका आधारमा केन्द्रिय बैंकले खर्चको भार निकालेको छ ।
कुल ५२५ वस्तु तथा सेवाको खर्च भार निकालेको राष्ट्र बैंकले मानिसहरुको ज्यादातर खर्च अझै पनि घर, घर भाडा र घरायसी सुविधाहरुको भुक्तानीमै गइरहेको देखाएको छ । तर कुल खर्चमा निवासको हिस्सा पहिलेभन्दा कम भएको छ । १० वर्ष अघि मानिसहरुले आफ्नो कुल खर्चको करीब २०.३३ प्रतिशत निवासकै लागि खर्चिरहेका थिए । अहिले त्यसको हिस्सा १६.६६ प्रतिशतमा झरेको छ ।
अर्थात् एउटा परिवारले वर्षभरीमा गर्ने कुल खर्चको १७ प्रतिशतभन्दा कम पैसा मात्रै घर, घर भाडा र बत्ति, पानी, फोहोर तथा घरायसी वस्तुहरुमा गरिरहेका छन् । तर रेस्टुरेन्टमा बसेर खाने र होटेल तथा रिसोर्टमा सुत्ने खर्च भने बढेको बढ्यै छ ।
वितेको १० वर्षमा नेपालीहरुको खर्च प्रबृत्तीले ‘रेस्टुरेन्ट कल्चर’लाई ब्यापक बढाएको देखिन्छ । पहिले चिया पसलमा लाग्ने भीड अहिले कफिसपमा झुम्मिन थालेको छ । घरमा खाजा बन्न बन्द भएका छन् । मध्येम वर्गको संख्या बढ्दै जानु, मानिसहरुसँग खर्चयोग्य आम्दानी बढ्नुजस्ता कारणले पनि यसो भएको हो ।
अर्को रमाइलो पक्ष चाहीँ के छ भने, कुल खर्चमा स्वाथ्य क्षेत्रको खर्च पनि यो दशकमा सर्वाधिक बढेको देखिन्छ । यसो हुनुमा विभिन्न महामारी तथा संक्रामक रोगको बढोत्तरी पनि कारण हुनसक्छ । घर बाहिर खानपिन गर्ने संस्कृतिको बढ्दो आँकडाले पनि मानिसहरुलाई ज्यादा बिमारी पारेको हुनसक्ने संभावना पनि छ । तर यस्तो खर्च किन बढ्यो भन्ने अध्ययन भएको पाइँदैन ।
१० वर्ष अघि एउटा परिवारले वार्षिक औसत साढे ३ प्रतिशत खर्च स्वास्थ्य सेवामा गरिरहेको थियो । तर अहिले त्यो आँकडा बढेर साढे ५ प्रतिशत नाघेको छ । फर्निचर र घरायसी सामग्रीमा हुने खर्च पनि पहिलेको तुलनामा ज्यादा बढेको देखिएको छ ।
फलफूल खाने संस्कृति पनि बढ्न थालेको देखिन्छ । यसले मानिसहरु स्वास्थ्यप्रति पहिलेभन्दा बढी सजग भएका हुन् कि भन्ने देखिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । सञ्चार क्षेत्रमा पनि अपेक्षित मात्रामा खर्च बढेको देखिएको छ । पहिलेको तुलनामा वितग १० वर्षमा मानिसहरुले टेलिफोन र इन्टरनेटमा खर्च बढाएका छन् ।
सूर्तिजन्य पदार्थमा हुने खर्च पनि बढेको देखिएको छ । यसमा चाहीँ पछिल्ला १० वर्षमा चुरोटको मूल्यमा भएको उच्च बृद्धि एक कारण हुनसक्छ । त्यसबाहेक मानिसहरुले चुरोट खाने प्रबृत्ती पनि बदलेको देखिएको छ । पहिले एउटै चुरोट बाँडेर खाने प्रचलन भएकोमा अब सिंगै चुरोट एक्लैले खाने चल्ति सुरु भएको छ । खासगरी कोभीड पछि त चुरोट बाँडेर खाने चलन ज्यादै कम भएको देखिन्छ । यसले चुरोटको खपत पनि बढाएको छ ।
विभिन्न वस्तु तथा सेवाको भार :
चुरोटमात्रै होइन, मदिरामा हुने खर्च पनि दोब्बर बढेको देखिएको छ । पहिले गाउँगाउँमा लोकल रक्सि खानेहरु पनि अब बियर र ह्वीस्कीमा लागेका कारण मदिरामा हुने खर्च बढेको हुनसक्ने अड्कल कतिपयको छ । मदिराको मूल्य बढ्नुको असर पनि यसमा देखिन्छ ।
पहिले विविध शीर्षकमा रहँदै आएको बीमा तथा वित्तीय सेवाको खर्चलाई अहिले अलग शीर्षकमा राखिएको छ । यी कयौँ वस्तु तथा सेवामा खर्च बढेको अवस्थामा कतिपय वस्तु तथा सेवामा खर्चको अनुपात खुम्चिएको छ । घर तथा घरायसी खर्च बाहेक मानिसहरुले खाद्यान्नमा हुने खर्च कम गरेका छन् ।
घरको खान्कि कम गरेर रेस्टुरेण्ट तथा होटेलको खान्की बढाएका कारण पनि यस्तो भएको हुनसक्छ । शिक्षा क्षेत्रमा हुने खर्च पनि अहिले कम भएको देखिन्छ । यसमा भने बालबालिकाको जन्मदर नै कम भएको, विद्यालयहरु खालि हुन थालेको र उच्च शिक्षाका लागि पनि विदेश नै रोजाइ बन्न थालेका कारण नेपालीहरुले शिक्षामा गर्ने खर्चको हिस्सा कम हुन थालेको देखिन्छ ।
तुलनात्मक रुपमा कम मूल्य बृद्धि भएको लत्ता कपडाको खर्च पनि पहिलेभन्दा घटेको छ । १० वर्ष अघि ७.२ प्रतिशत रकम खर्च हुने कपडा तथा जुत्ताचप्पलमा अहिले साढे ५ प्रतिशत हाराहारीमात्रै खर्च भइरहेको देखिन्छ । दूध र अण्डामा हुने खर्च पनि कम भएको छ । यसबाट मानिसहरुले दूध र दूधका परिकार खान कम गरेका हुन् कि भन्ने देखिन्छ ।
मनोरञ्जन तथा संस्कृति शीर्षकको खर्च पनि कम भएको छ । कुनै बेला सर्वाधिक खर्च हुने मौसमका रुपमा रहेको दशैँ अहिले सामान्य हुँदै गएको छ । पछिल्ला वर्षमा थुप्रै पुराना फिल्महलहरु बन्द भएका छन् । सामाजिक सञ्जालहरुको सक्रीयताले पनि मनोरञ्जन क्षेत्रमा खर्च घटाउन सहयोग गरेको हुनसक्छ ।
चिनि तथा चिनीजन्य उत्पादनमा हुने खर्च पनि कम भएको छ । बढ्दो शहरी जीवनशैलीका कारण चिनी नखाने वा कम खाने मानिसहरुको संख्या बढ्दा यस्तो देखिएको हुनसक्छ । मदिरा रहित पेय पदार्थ र दलहन तथा गेडागुडीमा हुने खर्च पनि कम भएको देखिन्छ । मानिसहरु सफ्ट ड्रिङ्क अर्थात् गुलिया पेयको सेवन गर्न कम गरेको यस तथ्यबाट देखिएको छ । जसले हाम्रो समाजलाई चिनिरोग (सुगर)बाट जोगाउन धेरथोर मद्दत गर्न सक्छ ।