साढे २७ प्रतिशत बढाए म्युचुअल फन्डहरुले नाफा, सेयर बजारमा लगानी र न्याभ कसको कति ?

काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुको वित्तीय अवस्था सुधारिँदो छ । अधिकांश फन्डहरुको नाफा, प्रतिइकाई खुद सम्पत्ति (न्याभ) र सेयर बजारमा गरिने लगानी बढाएका छन् ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४३ वटा म्युचुअल फन्ड सूचीकृत छन्, ती फन्डहरुले प्रकाशन गरेको फागुनको तथ्याङ्कअनुसार नाफा र सेयर बजारमा लगानी बढाएका छन् । तर, न्याभ भने औसतमा सामान्य गिरावट देखिएको छ ।
पछिल्लो समय सेयर बजारमा क्रमिक सुधार आएको छ । बजारमा देखिएको बढोत्तरीले नै म्युचुअल फन्डहरुको नाफामा सुधार आएको हो ।
साढे १७ प्रतिशत बढाए नाफा, कसको कति बढ्यो ?
फन्डहरुको औसत नाफा साढे २७ प्रतिशत वृद्धि भएको छ । गत माघमा फन्डहरुले ३ अर्ब ८५ करोड ६४ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका थिए ।
तर, फागुनमा भने २७.६५ प्रतिशत वृद्धि भई ४ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । फागुनमा तीन वटा फन्डहरुको मात्रै नाफा घटेको छ । त्यस बाहेक दुई वटा फन्ड नोक्सानीमा छन् । फागुनमा मेगा म्युचुअल फन्ड–१ एक करोड ७० लाख ४९ हजार र एनआइबिएल समृद्धि फन्ड–२ १४ करोड ६४ लाख रुपैयाँ नोक्सानीमा छन् ।
फागुनमा सर्वाधिक नाफा कमाउनेमा सिद्धार्थ इक्विटी फन्ड छ । फन्डले फागुनमा २५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । यता, प्रभू सेलेक्ट फन्डले २५ करोड ४ लाख, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ ले २१ करोड ९१ लाख, नबिल ब्यालेन्सड फन्ड–३ ले २० करोड ३० लाख, हिमालयन ‘८०–२०’ ले २० करोड १७ लाख र एनआइबिएल सहभागिता फन्डले २० करोड १ लाख रुपैयाँ नाफा कमाएका छन् ।
सो महिनामा सर्वाधिक नाफा बढाउनेमा सनराइज ब्लुचिप फन्ड छ । फन्डको नाफा ५८१.९२ प्रतिशत वृद्धि भएको छ । यस्तै, कुमारी सबल योजनाको नाफा पनि ४२३.६८ प्रतिशत वृद्धि भएको छ । यता, सनराइज फर्स्ट म्युचुअल फन्डको नाफा १५१ प्रतिशत वृद्धि भएको छ ।
फागनुमा सानिमा लार्ज क्याप फन्डको नाफा पनि ७४.८० प्रतिशत, एनआइबिएल सहभागिता फन्डको ६०.८८ प्रतिशत, आरविवि म्युचुअल फन्ड–११ को ४३.४३ प्रतिशत, कुमारी इक्विटी फन्डको ४३.०४ प्रतिशत, एनआइबिएल ग्रोथ फन्डको ३५.२६ प्रतिशत वृद्धि भएको छ ।

औसत न्याभ साढे ११ रुपैयाँ, कसको कति ?
फागनुमा फन्डहरुको औसत न्याभ ११.४१ रुपैयाँ कायम भएको छ । फागुनमा एनआइसी एशिया ग्रोथ फन्ड–२ र सिटिजन म्युचुअल फण्ड–२ को न्याभ सामान्य घटेको छ । यी बाहेकका सबै फन्डको न्याभमा सुधार देखिन्छ ।
फागुनमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको न्याभ १२.६४ रुपैयाँ छ । यस्तै, प्रभू स्मार्ट फन्ड १२.६३ रुपैयाँ, हिमालयन ८०–२० को १२.५१ रुपैयाँ, प्रभू सेलेक्ट फन्डको १२.५१ रुपैयाँ, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड १ को १२.२१ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को १२.१५ र २ को १२.०४ रुपैयाँ छ ।

एक महिनामा थपे सेयर बजारमा डेढ अर्ब लगानी, कसको लगानी कति ?
फन्डहरुले एक महिनामा सेयर बजार झन्डै डेढ अर्ब लगानी थपेका छन् । गत माघमा फन्डहरुले सेयर बजारमा ४० अर्ब ८४ करोड २९ लाख रुपैयाँ लगानी गरेका थिए । तर, फागुनमा पनि भने ३.३५ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ बढाएका छन् । योसँगै हाल बजारमा फन्डहरुको कुल लगानी ४२ अर्ब २०) करोड ९५ लाख रुपैयाँ कायम भएको छ ।
अधिकांश फन्डहरुले लगानी बढाए पनि ९ वटा फन्डहरुले घटाएका छन् । बजारमा सबैभन्दा ठूलो लगानी एनआइबिएल सहभागिता फन्डको ४ अर्ब ३घ करोड ५ लाख रुपैयाँ छ ।
यस्तै, एनएमबि सरल बचत फन्ड इको २ अर्ब ४९ करोड ५२ लाख, सिद्धार्थ इक्विटी फन्डको १ अर्ब ४६ करोड २१ लाख, प्रभू सेलेक्ट फन्डको १ अर्ब ३० करोड ८९ लाख, सनराइज ब्लुचिप फन्डको १ अर्ब ३० करोड ४० लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १ अर्ब २४ करोड २५ लाख रहेको छ । यी कम्पनीहरुसहित १८ वटा फन्डहरुको लगानी १ अर्ब माथि छ ।
फागुनमा सबैभन्दा धेरै लगानी गरिमा समृद्धि योजनाले ५७.०७ प्रतिशत बढाएको छ । एनआइसी एशिया डायनामिक डेब्ट फन्डले ३०.३६ प्रतिशत, नबिल फेलेक्सी क्याब फन्ड १३.३६ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ११.६३, सिटिजन म्युचुअल फन्ड–२ ले १०.८६ प्रतिशत, आरविवि म्युचुल फन्ड–२ ले १०.०८ प्रतिशत बढाएका छन् ।
