म्युचुअल फन्डको ब्यालेन्स सिट : नाफा, सेयर लगानी र न्याभमा छैन अपेक्षित सुधार, कुनको अवस्था कस्तो ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

म्युचुअल फन्डको ब्यालेन्स सिट : नाफा, सेयर लगानी र न्याभमा छैन अपेक्षित सुधार, कुनको अवस्था कस्तो ?



काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरूको वित्तीय प्रदर्शन खास उत्साजनक देखिएको छैन् ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४३ वटा म्युचुअल फन्डहरूको नाफा, सेयर बजारमा लगानी र प्रतिइकाई खुद सम्पत्ति (न्याभ) मा सुधार नदेखिएको हो ।

सेयर बजारमा देखिएको उतारचढावका कारण फन्डहरूको समग्र वित्तीय स्थिति चमक आउन सकिरहेको छैन् ।

गत बैशाख मसान्तमा आइपुग्दा फन्डहरुको औसत नाफा २.१० प्रतिशत घटेको छ । गत चैत मसान्तमा ती फन्डहरुले ३ अर्ब ३६ करोड २६ लाख १८ हजार रुपैयाँ नाफा कमाएका थिए । तर, बैशाख अन्तमा भने घटेर ३ अर्ब २९ करोड २० लाख ८१ हजार रुपैयाँ नाफा कमाएका छन् ।

बैशाखमा एक दर्जन फन्डको नाफामा मात्र बढेको छ भने २० वटाको घटेको छ । समिक्षा अवधिमा सर्वाधिक नाफा कमाउने प्रभू सेलेक्ट फन्ड नै छ । फन्डले २३ करोड २२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत चैतको तुलनामा भने ५.१९ प्रतिशत बढी हो । दोस्रो सिद्धार्थ इक्विटी फन्डले २१ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । यता, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड २१ करोड ६५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ ।

नाफा वृद्धिदरमा भने एनआइसी एशिया ग्रोथ फन्ड–२ रहेको छ । सो फन्डको नाफा २२.०८ प्रतिशत वृद्धि भई २ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । यस्तै, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रोको नाफा २१.१६ प्रतिशत, एनआइसी ब्यालेन्सड फन्डको १६.३१ प्रतिशत, एनएमबि सरल बचत फन्ड ईको ११.६७ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फन्डको ८.०६ प्रतिशत, सिटिजन सुपर ३० को ७.८७ प्रतिशत वृद्धि भएको छ ।

यता, शुभ लक्ष्मी कोषको नाफा भने सर्वाधिक ३६.७९ प्रतिशत घटेको छ । यस्तै, सानिमा ग्रोथ फन्डको नाफा २९.९० प्रतिशत, १९.५२ पतिशत, सिद्धार्थ सिष्टमेटिक इन्भेष्टमेन्ट स्किमको नाफा १९.५२ प्रतिशत, कुमारी सबल योजनाको नाफा २५.८२ प्रतिशत, कुमारी धनवृद्धि योजनाको १६.५२ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाको १३.११ प्रतिशत र कुमारी इक्विटी फन्डको ११.०८ प्रतिशत घटेको छ ।

हाल एनआइबिएल स्टेबल फन्ड, मेगा म्युचुअल फन्ड, रिलायवल समृद्धि योजना र एनआइबिएल समृद्धि योजना–२ भने घाटामा छन् ।

सेयर बजारमा लगानी झिनो बढ्यो, कुनको फन्डको लगानी कति ?

नाफामा गिरावट देखिए पनि फन्डहरुको सेयर बजारमा लगानी भने सामान्य दरमा बढेको देखिन्छ ।

गत चैत मसान्तमा फन्डहरुको बजारमा कुल ४२ अर्ब ४१ करोड २७ लाख ८६ हजार रुपैयाँ लगानी गरेका थिए । तर, बैशाखमा भने झिनो (०.४८ प्रतिशत) मात्र वृद्धि भएको देखिन्छ । समिक्षा महिनामा भने फन्डहरुको कुल लगानी ४२ अर्ब ६१ करोड ७३ लाख ७४ हजार रुपैयाँ कायम भएको छ ।

झन्डै डेढ दर्जन फन्डहरुको लगानी बढेको देखिन्छ । सेयर बजारमा सबैभन्दा ठुलो लगानी एनआइबिएल सहभागिता फन्डको ४ अर्ब ६२ करोड ३२ लाख २२ हजार रुपैयाँ छ ।

यस्तै, एनएमबि सरल बचत फन्ड इको २ अर्ब ६६ करोड ९ लाख ६९ हजार रुपैयाँ, सिद्धार्थ इक्विटी फन्डको १ अर्ब ४४ करोड ९३ लाख, प्रभू सेलेक्ट फन्डको १ अर्ब ३६ करोड ५३ लाख, सिद्धार्थ सिष्टमेटिक इन्भेष्टमेन्ट स्किमको १ अर्ब २७ करोड ६० लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको १ अर्ब २५ करोड २८ लाख, एनआइबीएल समृद्धि फन्ड २ को १ अर्ब २३ करोड ३४ लाख, सनराइज ब्लूचिपको १ अर्ब २१ करोड रुपैयाँ लगानी छ ।

बजारमा लगानी बढाउन भने गरिमा समृद्धि योजना शीर्ष सूचीमा छ । सो फन्डको लगानी ३२.६७ प्रतिशत वृद्धि भई ९४ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, एनआइसी एशिया डायनामिक डेप्ट फन्डको २१.५३ प्रतिशत, एनआइसी एशिया ब्यालेन्सड फन्डको १०.७३ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्यापको ९.४६ प्रतिशत, नबिल फ्लेक्सी क्यापको ९.४० प्रतितश, एनआइसी एशिया सेलेक्ट–३० को ७.८७ प्रतिशत वृद्धि भएको छ ।

न्याभमा पनि समान्य सुधार, हाल कुनको कति छ ?

बैशाखमा फन्डहरुको न्याभ पनि सामान्य बढेको देखिन्छ । गत चैतमा औसत न्याभ १०.६३ रुपैयाँ रहेको थियो । तर, बैशाखमा भने बढेर २०.८५ रुपैयाँ कायम भएको छ ।

हाल सबैभन्दा धेरै न्याभ हिमालयन ८०–२० को १२.६६ रुपैयाँ छ । यता, प्रभू स्मार्ट फन्डको १२.४६ रुपैयाँ, प्रभू सेलेक्ट फन्डको १२.३६ रुपैयाँ, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको १२.२४ रुपैयाँ र ग्लोबल आइएमई ब्यालेन्सडफन्डको १२.१८ रुपैयाँ छ ।

सबैभन्दा कम न्याभ एनआइबिएल स्टेल फन्डको ९.७० रुपैयाँ छ । यस्तै, एनआइबिएल समृद्धि फन्ड–२ को ९.९२ रुपैयाँ र रिलायवल समृद्धि योजनाको ९.९६ रुपैयाँ छ । यस बाहेक अन्य फन्डहरुको न्याभ भने १० रुपैयाँभन्दा माथि छ ।

कसको कति ?


प्रतिक्रिया दिनुहोस्