नेपालको आर्थिक क्यालेण्डरमा आजबाट नयाँ अध्याय सुरू, के–के बदलिन्छ अब ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेपालको आर्थिक क्यालेण्डरमा आजबाट नयाँ अध्याय सुरू, के–के बदलिन्छ अब ?



नयाँ आर्थिक वर्षको नयाँ अध्याय : नीति कार्यान्वयनमा, कर दर पनि लागु

काठमाडौं । नेपालको आर्थिक क्यालेण्डरमा आजबाट नयाँ अध्याय सुरू भएको छ ।

आर्थिक वर्ष २०८२–८३ को पहिलो दिनसँगै सरकारले सार्वजनिक गरेका आर्थिक योजनाहरु अब व्यवहारमा रूपान्तरण हुने चरणमा प्रवेश गरेका छन् । नीति, कार्यक्रम र बजेट आजदेखि कागजबाट कार्यान्वयनमा जान थालेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको १९ खर्ब ६४ अर्बको बजेट आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

चालु, पुँजीगत र ऋण व्यवस्थापन गरी तीन शीर्षकमा छुट्याइएको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले मार्गदर्शन तयार गरिसकेको छ । सबै मन्त्रालय तथा निकायलाई सर्कुलर मार्फत निर्देशन दिइसकेको छ ।

बजेटअनुसार चालु खर्चमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारको योजना अनुसार कुल खर्च धान्न राजस्वबाट १३ खर्ब १५ अर्ब संकलन गरिनेछ भने बाँकी रकम वैदेशिक अनुदान (५३ अर्ब ४५ करोड), वैदेशिक ऋण (२ खर्ब ३३ अर्ब) र आन्तरिक ऋण (३ खर्ब ६२ अर्ब) बाट व्यवस्थापन गरिनेछ ।

साथै, बजेटमार्फत प्रस्ताव गरिएका करसम्बन्धी नयाँ व्यवस्थाहरु पनि आजैदेखि लागू भएका छन् । योसँगै आयकर, भ्याट, भन्सार तथा अन्य अप्रत्यक्ष करका नयाँ दर कार्यान्वयनमा गएका छन्, जसले निजी क्षेत्रको कारोवारदेखि आम नागरिकको दैनिक जीवनमा समेत प्रभाव पार्नेछ ।

चालु आवमा सरकारको लक्ष्य भनेको ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नु हो । त्यसका लागि पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने, निजी क्षेत्रको लगानी बढाउने, रोजगारी सिर्जना गर्ने जस्ता प्राथमिकतामा सरकार केन्द्रित रहनेछ ।

नयाँ आर्थिक वर्षले उत्पादनमूलक क्षेत्रमा सुधार, लगानीमैत्री वातावरणको निर्माण र आर्थिक सशक्तिकरणतर्फ ठोस पाइला चालिने आशा बोकेको छ ।


प्रतिक्रिया दिनुहोस्