रिद्धि सिद्धि सिमेन्टले ९ महिनामै गर्यो ४ अर्बको व्यापार, झन्डै १२ अर्बको कर्जा क्षमता
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले ९ महिनामै चार अर्बको व्यापार गरेको छ । सिमेन्टले आर्थिक वर्ष २०२४–२५ को ९ महिनामा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
सन् २०१३ मा स्थापना भएको रिद्धि सिद्धि सिमेन्ट लिमिटेड शंकर समूह र अम्बे समूहको संयुक्त लगानीमा सञ्चालित सिमेन्ट उद्योग हो । प्रतिस्पर्धात्मक बजारमा रिद्धि सिद्धि सिमेन्टले आफ्नो स्थिरता र मजबुत बजार उपस्थिति प्रमाणित गरेको छ ।
गत वर्ष सन् २०२४ मा पनि सिमेन्टको व्यापार ६.३१ प्रतिशत वृद्धि भएको थियो । सो वर्षमा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो । सन् ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
कम्पनीले सिमेन्ट तथा क्लिंकर उत्पादन तथा बिक्री गर्दै आएको छ । मकवानपुरको हेटौंडास्थित रातोमाटेमा उत्पादन केन्द्र रहेको कम्पनीको पिसाइ क्षमता ०.७३ मिलियन मेट्रिक टन प्रति वर्ष (एमटीपीए) रहेको छ ।
यद्यपि, पोर्टल्यान्ड स्ल्याग सिमेन्ट उत्पादनका लागि रहेको थप ०.२४ मिलियन एमटीपीए पिसाइ क्षमता हाल बन्द गरिएको छ । कम्पनीको क्लिंकर उत्पादन क्षमता भने ०.८४ मिलियन एमटीपीए रहेको छ ।
रिद्धि सिद्धिले ‘रिद्धि सिद्धि’ र ‘मकवानपुर सिमेन्ट’ ब्रान्डमार्फत ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पिपिसी) बजारमा उपलब्ध गराउँदै आएको छ ।
हाल कम्पनीले उत्पादन गरिएको क्लिंकरमध्ये झण्डै ८४ प्रतिशत भाग आफ्नै सिमेन्ट उत्पादनमा प्रयोग गर्दै आएको छ भने बाँकी क्लिंकर अन्य स्थानीय पिसाइ इकाइहरूलाई बिक्री गर्दै आएको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा रहेको छ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडको इस्युअर रेटिङ पुनःपुष्टि गर्दै ‘आइआरएन ट्रिपल बि माइनास’ प्रदान गरेको छ । यो रेटिङले कम्पनीलाई मध्यम स्तरको सुरक्षा जनाउने संकेत गर्दछ र यसको वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने क्षमताको सन्देश दिन्छ ।
कम्पनीले ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ। यसमा, इन्फोमेरिक्स नेपालले कम्पनीको दीर्घकालीन बैंक सुविधामा ८ अर्ब २७ करोड ५९ लाख रुपैयाँ र अल्पकालीन बैंक सुविधामा ३ अर्ब ६६ करोड १५ लाख रुपैयाँका लागि रेटिङ गराएको छ ।
















