रोकिएको एमसीसी पुनः अघि बढ्ने, अर्थमन्त्रालयले पायो अमेरिकाको पत्र
काठमाडौं । केही समयअघि अस्थायी रूपमा रोकिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अब पुनः अघि बढ्ने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले साउन ८ गते पठाएको पत्रमार्फत नेपाल कम्प्याक्टको पुनरावलोकन प्रक्रिया सकिएको र परियोजना निरन्तरता दिन सिफारिस गरिएको जानकारी दिएको हो ।
२०७४ साल भदौ २९ गते नेपाल सरकार र एमसीसीबीच हस्ताक्षर भएको सम्झौता यस वर्ष माघमा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशले अस्थायी रूपमा स्थगन गरिएको थियो । तर, अब पुनरावलोकन कार्य सकिएको र नेपालसँगको सहकार्य यथावत् रूपमा अघि बढ्ने एमसीसीले स्पष्ट पारेको मन्त्रालयले जनाएको छ ।
यससँगै एमसीसी अन्तर्गतका प्रसारण लाइन र सडक पूर्वाधार परियोजना पुनः तीव्र गतिमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

















