बढीले ठूलो क्षति पुग्न सक्ने आशङ्कामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् बन्द
रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ ।
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुन: विद्युत् उत्पादन सुरु गरिने उनले जानकारी दिए ।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो । त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुन: क्षति पुग्न सक्ने आशङ्कामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन् ।
रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ । अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुन: सञ्चालनमा ल्याइने बताए ।
भोटेकोशी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको त्यहाँस्थित सुरक्षाकर्मीले जनाएका छन् । भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेकाले यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति (प्रालि)सँग चालकहरूले माग गरेका छन् ।













