हेटौँडा कपडा उद्योग ब्युँताउन नेपाली सेनाको ‘मिसन’, युद्धस्तरमा हुँदैछ काम
विगतमा राष्ट्रिय सुरक्षा र संकटमा खटिँदै आएको नेपाली सेनाले अब देशको अर्थतन्त्र ब्युँताउने ऐतिहासिक ‘मिसन’ सम्हाल्दै बन्द हेटौँडा कपडा उद्योगलाई ६० दिनभित्र ब्युँताउने गरी युद्धस्तरमा काम सुरु गरेको छ।
काठमाडौँ । लामो समयदेखि मृतप्रायः बनेको हेटौँडा कपडा उद्योगको परिसरमा अचेल कुनै सैनिक ब्यारेकको जस्तै जुझारु चहलपहल देखिन थालेको छ। विगतमा मुलुक संकटमा पर्दा फ्रन्टलाइनमा उभिने नेपाली सेनाले अब देशकै एउटा ऐतिहासिक गौरवलाई पुनर्जीवन दिने ठूलो जिम्मेवारी आफ्नो काँधमा लिएको छ।
उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको एउटा महत्त्वाकांक्षी योजनाका साथ सेनाले उद्योगभित्र आफ्नो ‘मिसन’ सुरु गरिसकेको छ। यसै सिलसिलामा उद्योग कसरी चलाउने र यसको भविष्यलाई कसरी सुरक्षित गर्ने भन्ने स्पष्ट कार्यदिशा र खाकासहितको विस्तृत प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाइएको छ।
मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको नेतृत्वमा गठन भएको अध्ययन कार्यदलले यो प्रतिवेदन तयार पारेको हो।
युद्धस्तरमा मर्मत संभार
सरकारले यो उद्योगलाई पुनः ब्युँताउने भरोसा केवल नेपाली सेनामाथि नै राखेको देखिन्छ। अर्थ मन्त्रालयले विनियोजन गरेको बजेटको जगमा उभिएर सेनाले उद्योगभित्रका वर्षौँदेखि खिया लागेका र कवाडी बनिसकेका पुराना मेशिनहरूलाई ब्युँताउन असम्भव प्रायः देखिने कामलाई सम्भव तुल्याउन सुरु गरिसकेको छ।
कार्यदलको प्रतिवेदन अनुसार सरकारले तोकेको शर्त र निर्देशन बमोजिम आगामी दुई महिनाभित्रै उद्योगबाट कपडाको परीक्षण उत्पादन सुरु गरिसक्नु पर्नेछ। यही ६० दिने म्यान्डेटलाई पूरा गर्न सेनाका प्राविधिकहरूले अहोरात्र पसिना बगाउँदै कामलाई तीव्रता दिएका छन्।
उद्योग ब्युँताउने यो ऐतिहासिक अभियानका लागि अर्थ मन्त्रालयले असारको पहिलो साता नै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ जम्मा गरिसकेको छ। बजेट निकासा लगत्तै सेनाको विशेष प्राविधिक टोली उद्योग स्थलमै क्याम्प खडा गरेर सरसफाइ र मर्मतमा होमिएको छ।
सेनाले परीक्षण उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत द्रुत गतिमा खरिद गरिसकेको छ भने मेशिनका पाटपुर्जाहरूलाई पुनः क्रियाशील बनाउन प्राविधिक टोली खटिएको छ।
सेनाभित्र कम्मलदेखि मोजासम्म उत्पादन गर्ने आफ्नै उद्योगहरु छन् । तिनै उद्योगका प्राविधिकले अहिले हेटौँडामा काम गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए ।
‘अहिले हाम्रै प्राविधिकहरुले काम गरिरहनु भएको छ । आवस्यक पर्यो भने बाहिरबाट पनि इञ्जिनियर र प्राविधिकहरु भित्र्याएर काम गर्छौँ’, उनले भने, ‘परीक्षण उत्पादनपश्चात् उद्योगलाई पूर्ण स्तर र व्यावसायिक रुपमा सञ्चालन गर्न थप अध्ययन गरिने छ ।’
कुनै बेला नेपालको शान रहेको यो कपडा उद्योग अलपत्र परेपछि विगतका थुप्रै सरकारले उद्योग सञ्चालनको जमर्को गर्न खोजेका थिए । तर कतैबाट पनि उद्योग सञ्चालन गर्न नसक्ने देखिएपछि यो जिम्मेवारी सेनाको काँधमा सुम्पिएको हो ।

भौतिक पूर्वाधारको काँचुली
वर्षौँदेखि भत्किएका र जीर्ण बनेका उद्योगका भौतिक संरचनाहरूलाई पनि अब नयाँ स्वरूप दिइँदैछ। यसका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान स्वीकृत गर्दै संरचनाहरू मर्मत गर्ने र कारखानाको स्वरुप बदल्ने जिम्मेवारी सम्हालेको छ।
अर्कातर्फ, उद्योगभित्रको ध्वस्त भइसकेको विद्युत् प्रणाली सुधार्ने जस्तो जटिल काम हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
भविष्यको योजना
अहिलेका लागि सेनाले आफ्नो प्राविधिक कौशल प्रयोग गरेर पुराना मेशिनहरूबाटै कपडा उत्पादनको चमत्कार देखाउने योजना बनाएको छ। यो परीक्षण उत्पादन कत्तिको ऐतिहासिक र सफल हुन्छ, त्यसैको नतिजाका आधारमा उद्योगलाई सधैँका लागि देशकै सबैभन्दा ठूलो कपडा उत्पादन केन्द्र बनाउन एउटा विस्तृत परियोजना प्रतिवेदन अर्थात् डीपीआर तयार पारिनेछ।
सोही प्रतिवेदनका आधारमा सरकारले आवश्यक कानुनी अड्चनहरू फुकाउँदै दीर्घकालीन नीतिगत निर्णयहरू गर्ने तयारी गरेको छ।
प्रतिवेदन बुझ्दै उद्योगमन्त्री यादवले हेटौँडा कपडा उद्योग देशको प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भएको बताएकी छन्।
उनले यस उद्योगलाई फेरि सञ्चालनमा ल्याउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सेनाको नेतृत्व र कार्यदलको सुझावका आधारमा तोकिएकै समयभित्र उत्पादन सुरु गर्न मन्त्रालयले हरसम्भव सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाइन्।













