कामना सेवा विकास बैंकको लोभलाग्दो वित्तीय छलाङ: नाफा ३३.५१ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?
काठमाडौँ । राष्ट्रिय स्तरकाे कामना विकास बैंकले एक वर्षमा साढे ८९ करोड रूपैयाँ खुद मुनाफा कमाएकाे छ।
शनिबार सार्वजनिक भएकाे गत आर्थिक वर्ष २०८२/८३ को चौँथो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंककाे नाफा ३३.५१ प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
अघिल्लाे आर्थिक वर्ष २०८१/८२ काे चाैथाे त्रमासमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रूपैयाँ खुद नाफा कमाएकाे थियाे ।
नाफासँगै यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंककाे यस्ताे आम्दानी ३.६७ रुपैयाँले बढेर २२.७५ रुपैयाँ पुगेकाे छ ।
यस्तै गत आर्थिक वर्षकाे चाैँथाे त्रैमाससम्ममा बैंककाे खुद ब्याज आम्दानी पनि ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख रूपैयाँ पुगेकाे छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रूपैयाँ रहेकाे थियाे ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ। यस हिसाबले चौँथो त्रैमाससम्म बैंकले १५.१६ प्रतिशत लाभांश क्षमता बनाएको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
असार मसान्तसम्मको अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज गत वर्षको ४१ करोड ८१ लाख रुपैयाँबाट घटेर १३ करोड ६५ लाख रुपैयाँमा झरेको छ।
अघिल्लाे आर्थिक वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.४९ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ३.७७ प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित छ। बैंकले समीक्षा अवधिमा कुल ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।













