दुई संस्थाको मर्जरबाट प्राप्त सिनर्जीमार्फत जादुमयी उपलब्धि हासिल गर्नेछौं « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

दुई संस्थाको मर्जरबाट प्राप्त सिनर्जीमार्फत जादुमयी उपलब्धि हासिल गर्नेछौं



राजेन्द्रदाश श्रेष्ठ

यसअघि हामी दुई संस्था एउटै क्षेत्रको फरक अस्तित्वमा थियौं । आजदेखि एउटै परिवार भएका छौं । आजको यस विशेष अवसरमा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु र बधाई दिन चाहन्छु ।

समस्त वित्तीय क्षेत्रलाई मजबुत बनाउँदै लैजाने नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिलाईसमेत आत्मसाथ गर्दै हामीले विभिन्न वित्तीय संस्थाहरुलाई मर्जर प्राप्ति गर्दै जाने रणनीति अवलम्बन गरेका छौं । वर्तमान प्रतिस्पर्धात्मक वातावरणमा प्राइम बैंकलाई पहिलो रोजाईको अब्बल बैंक बनाउने दृढ संकल्पका साथ प्रतिस्पर्धामा उत्रिन हाम्रा सम्पूर्ण नीति तथा कार्यक्रमहरु यसै अनुरुप तय भएका छन् ।

बैंक बलियो बन्नकोलागी पुँजी, शाखा सञ्जाल, जनशक्ति र आकर्षक पोर्टफोलियोको जरुरत पर्छ । वित्तीय संस्थाहरुको प्राप्तिबाट एकसाथ तत्काल यी सबै कुरा हासिल गर्न सकिने भएकोले हामीले यस्तो रणनीति अवलम्बन गरी आएका हौं । यसैबर्ष कन्काई विकास बैंकलाई प्राप्ति गरिसकेका छौं भने आज फेरि कैलाश विकास बैंकसँग एकीकृत कारोबार गर्दैछौं । करिव २ सय शाखा सञ्जालसहित यस बैंकको पहुँच अव देशव्यापी बनेको छ । बैंकको करिव १४ अर्ब चुक्ता पुँजीसहित कुल पँुजीकोष करिव १९ अर्बको हुनेछ भने समग्र पोर्टफोलियो सवा खर्बभन्दा बढी हुनेछ । बहुसंख्यक वित्तीय परिसुचकहरुमा हामी निजीक्षेत्रका उत्कृष्ठ बैंकहरुमध्येमा यस बैंकलाई उभ्याउन सफल भएका छौं । यसबाट आगामी दिनमा बैंक अझ सक्षम र सवल भई व्यवसायका आकारमा समेत उत्साहजनक वृद्धि हुनेछ ।

१ र १ मिलाएर दुई हुने गणितको सामान्य नियम हो । तर १ र १ मिलाएर दई मात्र हुँदैन, बढी पनि हुन्छ । महाजादुमयी उक्त अंक हासिल गर्न कठिन पनि होला तर हामी दुई संस्थाको सिनर्जी प्रतिफलमार्फत जादुमयी उपलब्धिको नम्बर ३ प्राप्त गर्ने कोशिस गर्नेछौं । दक्ष जनशक्ति, बनिबनाउ पोर्टफोलियो र शाखा सञ्जाल तथा कोषको व्यवस्थापन गर्नसक्ने प्राइमको आफ्नो मौलिक कार्यकुशलताले हामी सबैले अपेक्षा गरेको प्रस्तावित उपलब्धि हासिल हुनेछ भन्ने मलाई विश्वास छ ।

साथै देशव्यापी शाखा सञ्जाल भएकोले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको प्राथमिकता रहेका उत्पादनशील क्षेत्र तथा कृषि क्षेत्रमा लगानी विस्तार गर्न समेत थप सहज हुनेछ । प्राप्ति पश्चात बैंकको व्यापार व्यवसाय एवं शाखा संजालमा बृद्धि हुनुका साथै, निवर्तमान संस्थाका अनुभवी तथा क्षमतावान कर्मचारीहरु सहितको बलियो पूर्वाधार प्राप्त गरी यस बैंकले भविष्यमा सफलताको नयाँ उचाइ हासिल गर्नेछ । यसको वृहत् फाइदा सेयरधनी, निक्षेपकर्ता, ऋणी, कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरुलाई प्राप्त हुनेछ । बैंकको सर्बोपरी हितमा हुने र सेयरधनीको प्रतिफलमा नकारात्मक असर नपुग्ने गरी आगामी दिनमा पनि मर्जर तथा एक्विजिसन गर्ने नीतिलाई प्राथमिकतामा राखिनेछ । यसका लागि हामीले बैंकको अधिकृत पुँजी २२ अर्ब पुर्याउने निर्णय ११ औं वार्षिक साधारण सभाबाट नै गरिसकेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

आम निक्षेपकर्ता, कर्जा उपभोक्ता, सेयरधनी तथा कर्मचारी वर्ग बैंकका मुख्य खम्बाको रुपमा रहेका छन् । हामीले स्थापना कालदेखि नै निक्षेपकर्ताहरुलाई उच्च ब्याज दिदै आएका छौं भने तुलनात्मकरुपमा न्यून ब्याजदरमा कर्जाका उपभोक्ताहरुलाई वित्तीय स्रोतको बन्दोबस्त गरिदिएका छौं । लिने र दिने ब्याजदरको अन्तर स्प्रेड न्यूनतम राखेर काम गर्ने हाम्रो नीति रहिआएको छ । त्यसैगरी सेयरधनीहरुलाई पनि तुलनात्मक रुपमा उच्च लाभांश प्रदान गर्दै आएका छौं भने कर्मचारी वर्गलाई पनि बैंकिङ्ग उद्योगकै औसतभन्दा माथि सेवा सुविधाहरु उपलब्ध गराउँदै आएका छौं । कहिलेकाहीं प्रश्न उठ्ने गर्छ, यो कसरी संभव छ र न्यून सञ्चालन खर्च र कोषको उत्कृष्ठ व्यवस्थापनका साथै सिर्जनशील, नबीन आविष्कार एवं कडा मेहनत गर्ने कार्यसंस्कृतिको विकास गरी आश्चर्यजनक र असम्भव जस्तै लाग्ने यो मोडेल अपनाउदै आएका छौं र यसमा हामी सफल छौं । मौलिक सम्पत्ति जस्तै बनिसकेको हाम्रो यो सामार्थ वास्तवमा बैंकिङ्ग क्षेत्रमा चर्चाको विषय बन्ने गरेको छ । बैंकका मुख्य चारवटै पक्षलाई सन्तुष्ट बनाएर पनि सबैभन्दा न्यून सञ्चालन खर्च भएको तथा बढी प्रतिफल दिने बैंकको रुपमा प्राइम बैंकको नाम लिइँदा हामीलाई गोरवको अनुभूति हुने गरेको छ । यो तुलनात्मक सामर्थलाई आगामी दिनमा पनि कायम राख्नेमा विशेष ध्यान दिइनेछ ।

बैंकले कमाएको मुनाफाबाट सेयरधनीहरुलाई स्टक डिभिडेण्ड दिइएकोले राष्ट्र बैंकले तोकेको पुँजीकोष पुर्याउन पनि सजिलो भयो भने मुनाफा वितरणको यो रणनीतिबाट सर्वसाधारण सेयरधनीहरुले पनि दोस्रो बजारको मूल्य अनुसार बोनस सेयरबाट उच्च प्रतिफल प्राप्त गरेका छन् । त्यसैगरी न्यूनतम सञ्चालन खर्च र उच्चतम प्रतिफलको व्यवस्थापनबाट बोनसको रुपमा कर्मचारीहरुले पनि समकालीन बैंकहरुको भन्दा बढी सुविधा प्राप्त गरिरहेका छन् । कैलाशको आगमनबाट प्रतिफलमा लाभ नै हुने भएकोले यसको सकारात्मक प्रभाव नै पर्नेछ । त्यस्तै कर्मचारीहरुलाई बैंकिङ्गका हरेक विधामा काम गर्नसक्ने बनाउने गरेका छौं । अन्य संस्थामा नभएको तर प्राइम बैंकमा मात्र भएको थप सुविधा भनेको वार्षिक अतिरिक्त विदाको व्यवस्था हो । बहुआयमिक सकारात्मक प्रभाव दिने यस सुविधा अन्तर्गत मानसिक शान्ति, तनाव व्यवस्थापन र नैतिक मूल्य मान्यता एवं संष्कारको विकासका लागि १०/१२ दिनको ध्यान शिविरमा भाग लिएमा बैंकबाट ६ दिनको अतिरिक्त विदा दिने विशेष व्यवस्था गरिएको छ । प्राप्ति प्रश्चात पनि कर्मचारीहरुलाई विभिन्न तालिम तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गरी बैंकका प्रत्येक कर्मचारीहरुलाई क्षमता अनुसारको उचित जिम्मेवारी दिइनुका साथै हरेक विधामा काम गर्नसक्ने जनशक्तिको रुपमा विकसित गरिनेछ । यस अतिरिक्त वृत्ति विकासका लागि अन्य सुविधाहरु पनि उपलब्ध गराइनेछ ।

त्यसैगरी संस्थागत सुशासन, व्यवसायिकता, कार्यसंस्कार एवं पद्धतिको विकासमा हामीले निकै उत्कृष्ठ काम गरेका छौं । यसक्रममा कानुनी, विभिन्न आम्दानी र जोखिममा आधारित लेखापरीक्षण समेत गर्ने । गरिएको छ । यसबापत सम्बधित निकायहरुबाट हामीले प्रशंसा र तारिफ पनि पाउने गरेका छौं ।

यसले गर्दा बैंकको कर्पोरेट इमेज पनि माथि उठेको छ । अन्तमा यस प्राप्तिलाई सफलतापूर्वक सम्पन्न गराउन सकारात्मक भुमिका निर्वाह गर्ने मर्जर समितिका पदाधिकारीहरु तथा नियामक निकायहरुप्रति आभार प्रकट गर्न चाहन्छु । साथै यस प्राप्तिलाई सफलतापूर्वक सम्पन्न गर्न लामो समयदेखि अथक प्रयास गर्दै आउनु भएका बैंक व्यवस्थापक एवं अन्य कर्मचारीहरुलाई समेत म विशेष धन्यवाद दिन चाहन्छु ।
(प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्तीपछि एकिकृत कारोवार संचालन कार्यक्रममा अध्यक्ष श्रेष्ठद्वरा व्यक्त मन्तव्य)


प्रतिक्रिया दिनुहोस्