महिनामा आधा सिलिन्डर ग्यास वितरण « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

महिनामा आधा सिलिन्डर ग्यास वितरण



काठमाडौँ। नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले दुईवटा आधा सिलिन्डर लिएर महिनाको १४.२ किलोग्राम ग्यास पु¥याउने निगमले जनाएको छ ।
कोरोना भाइरसको त्रासले एलपी ग्यासको अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन आधा सिलिन्डर वितरण गरिने भएको हो । घरमा एउटा सिलिन्डर प्रयोग हुने हो तर अधिकाशंले आठ÷दसवटा राखेको भन्दै वितरण साइकल प्रभावित हुने भएकाले केही समयका लागि आधा सिलिन्डर वितरण गरिने निगमले जनाएको छ ।
हाल ३० लाख सिलिन्डर बजारमा छन् । ती सिलिन्डर मौज्दात राखिएकाले तत्काल बजारमा फर्किन नसक्ने अवस्था भएपछि मौज्दात सिलिन्डर बजारमा ल्याउनका लागि आधा पठाउन लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडले जानकारी दिनुभयो ।
पौडेलले भन्नुभयो, तत्कालका लागि आधा सिलिन्डर भर्न लगाउने हो, दैनिक एक लाख सिलिन्डर बजारमा जान्छन, ३० लाख सिलिन्डर बजारमा छन, उपभोक्तासँग रहेका सिलिन्डर बाहिर तत्काल आउने अवस्था छैन त्यसैले वितरण प्रणालीलाई एकपटक व्यवस्थित गर्न खोजेको हो, यसबाट ग्यास नपाउने सर्वसाधारणका लागि पनि सहज हुन्छ तर ग्यास नपाएर आधा सिलिन्डर भर्न लगाएको होइन ग्यास छ पाइन्छ ।
नेपालमा ६० लाख घरधुरी छन् जसमध्ये २० प्रतिशतले ग्यासको प्रयोग गर्दछन् । निगमको दाबी अनुसार नेपालमा १५ लाख धरधुरी ग्यास प्रयोग गर्दछन् । एक महिनामा मात्रै १५ लाख उपभोक्तालाई २४ लाख सिलिन्डर वितरण गरिएको पौडलेको भनाइ छ । भरिएको सिलिन्डर उपभोक्ताकोमा पठाएपछि खाली भएर आउन समय लाग्ने देखिएकाले हाललाई आधा सिलिन्डर पठाउन लागिएको हो । लामो समय सिलिन्डर उपभोक्ताकोमै रहँदा वितरण प्रणालीमा असर गर्ने भएकाले यसो गरिएको पौडेलको भनाइ छ । ग्यास सिलिन्डरको नियमित वितरण साइकल अनुसार ३७ हजार सिलिन्डर उपभोक्तासँग, ३७ हजार ढुवानीमा र ३७ हजार उद्योगमा भयो भने सहज वितरण हुन्छ ।
लकडाउन लम्बिँदै जाँदा ग्यासको अभाव हुनसक्ने भएकाले पनि उपभोक्तालाई आधा सिलिन्डर वितरण गरिने भएको हो । भारतबाट सहज आपूर्ति नहँुदाको अवस्थामा पनि वितरण गर्न सकियोस् भन्ने हेतुले आधा सिलिन्डर भर्न लागिएको हो । पौडेल भन्नुहुन्छ, सिलिन्डरका कारण थप समस्या नहोस् भनेर बेलैमा सोचेका हौँ तर उपभोक्तालाई भने सास्ती हुनेछ ।
निगमका अनुसार अहिले पनि दिनमा एक लाख सिलिन्डर बजारमा गइरहेको छ । सुरक्षाका हिसाबले आधा सिलिन्डर प्रयोगमा ल्याउँदा फरक नपर्ने निगमले जनाएको छ । भरी हुँदा १४.२ किलोको सिलिन्डर पाइन्थ्यो भने उपभोक्ताले अब ७.१ किलोग्राम तौलको सिलिन्डर पाउने छन् । पौडेलले भन्नुभयो, हामीले एक परिवारलाई महिनाको एउटा सिलिन्डर भनेका थियौँ, त्यो भनेको १४.२ किलो हो अब ७.१ किलोको दुईवटा पाउनुहुन्छ, एउटा परिवारलाई महिनामा १४.२ किलो ग्यास चाहिन्छ नै, परिणाम पुराउँछौँ, यो इमरजेन्सीको निर्णय हो ।

इन्धन दिन पम्पलाई निर्देशन
नेपाल आयल निगमले आवश्यक सामान ढुवानी गर्ने सवारीलाई पेट्रोल डिजेल उपलब्ध गराउन निर्देशन गरेको छ । पम्प बन्द रहे पनि पम्पबाहिर देखिने गरी सूचना टाँसेर सम्पर्क नम्बर उपलब्ध गराउने र मान्छे सम्पर्कमा रहने व्यवस्था मिलाउन पम्पहरूलाई निर्देशन गरेको हो । आवश्यक सामान ढुावनी गर्ने सवारीसाधन, एम्बुलेन्स वा सरकारबाट इजाजतप्राप्त सवारीलाई इन्धन उपलब्ध गराउन सक्ने गरी सम्पर्क व्यक्ति तोकेर सूचना टाँस्न निगमले निर्देशन गरेको छ ।
साथै, निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने करार सम्झौतामा रहेका ट्याकङ्रलाई लोड लिन इन्डियन आयल कर्पोरेसनको सिलगुढी टर्मिनलमा पठाउन निर्देशन गरेको छ । प्रायजसो बिक्रेताहरूको आफ्नै पम्पको नाममा ट्याङ्करहरूसँग ढुवानी करार सम्झौता रहेको हँुदा सो ट्याङ्करहरूलाई सिलगुढी टर्मिनलमा लोड लिन पठाउनुहुन निर्देशन गरेको छ । गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्