धक्का दिन खोजेमा पछि हट्नु हुँदैन : राजदुत पाण्डे
काठमाडौं । चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल आफैमा सार्वभौम मुलुक भएकाले कसैले धक्का दिन नहुने बताएका छन ।
आइतबार आफुलाई सम्मान गर्न आयोजित कार्यक्रममा पुर्व परराष्ट्रमन्त्रीसमेत रहेका पाण्डेले अरु देशले धक्का दिन खोजे पछि लहट्न नहुने बताएका छन । उनले छिमेकी मुलुकसँगका सबै समस्या आपसमा बसेर संवाद गर्नुको विकल्प नरहेको बताए ।
देशका सिमा विवाद सार्वभौम र समानताका आधारमा समाधान बार्ता मार्फत समाधान गर्न सकिने बताए । नुवाकोट सरोकार समाजले आइतबार गरेको सम्मान ग्रहण गर्दै राजदूत पाण्डेले चीन र भारत दुवै छिमेकी तथा सबै मित्रराष्ट्रसँग सम्मानपूर्ण व्यवहार नेपालको प्राथमिकता रहेको उल्लेख गरे ।
नेपालले राष्ट्रहित, राष्ट्रको आवश्यकता र जनताको भावनालाई सम्बोधन गर्ने गरी आफुले कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पष्ट पारे ।
कूटनीतिमा तथ्यमा आधारित भएर सत्य खोज्ने र वैज्ञानिक ढङ्गबाट समाधान गरिन्छ । त्यसकारण हामीले छिमेकीहरुसँग मित्रवतरुपमा संवादबाट सबै समस्याको समाधान गरी ती मुलुकको आर्थिक प्रगतिबाट लाभ लिने योजना बनाउनुपर्नेमा जोड दिए ।
गत वैशाख ५ गते राजदूतमा नियुक्त पूर्वपरराष्ट्रमन्त्री पाण्डेले मुलुकको समृद्धिका लागि हामीले योजनामा मात्र नभई व्यवहारमा काम गरेर देखाउनुपर्ने बेला आएको बताए । कार्यक्रममा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित सांसद नारायणप्रसाद खतिवडाले यसअघि नेपाल र चीनबीच भएका नेपालको हित हुने सम्झौताको कार्यान्वयनका लागि नवनियुक्त पाण्डेलाई भूमिका निर्वाह गर्न तथा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको समस्या समाधान गर्नका लागि पहल गर्न सुझाव दिए ।
नुवाकोट क्षेत्र १ बाट निर्वाचित सांसद हितबहादुर तामाङले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेर दिइने संज्ञा हीनताबोधी भएको जनाउँदै हामी आफ्नो हितका लागि कसैसँग झुक्न नहुने बताए ।
कार्यक्रममा नेकपा नुवाकोटका नेता राजेन्द्रप्रकाश लोहनी, केन्द्रीय सदस्य माधव अर्याल, राप्रपा केन्द्रीय सदस्य भरत पाठक, बाग्मती प्रदेशसभाका सदस्यद्वय बद्री मैनाली र कल्पना नेपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नुवाकोटका जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसी, सरोकार समाजका अध्यक्ष रामशरण प्याकूरेल, समाजका महासचिव अनुजकुमार श्रेष्ठ, सचिव विनोद न्यौपाने, सदस्य आरएम डङ्गोललगायतले राजदूत पाण्डेको कार्यकाल सफलताको कामना गरेका थिए ।