राष्ट्र बैंकमा हाकिमहरुको फेरी सरुवाको चर्चा « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

राष्ट्र बैंकमा हाकिमहरुको फेरी सरुवाको चर्चा



काठमाडौं । महाप्रसाद अधिकारी राष्ट्र बैंक गभर्नरमा नियुक्त भएको चार महिना बितेको छ । यसबीचमा विभागीय प्रमुखहरूको खासै सरुवा भएको छैन । पूर्ववर्ती गभर्नर चिरञ्जीवी नेपालले राखेका जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशकलाई सरुवा गर्ने क्रममा गत जेठ तेस्रो साता चार जना विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको थियो ।

त्यतिबेला पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षण र सोही विभागका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा लगिएको थियो । वरिष्ठ कार्यकारी निर्देशक तथा व्यवस्थापन समितिका भुवन कंडेललाई भुक्तानी प्रणाली विभागमा, मुद्रा व्यवस्थापनका विश्र्रुत थापालाई आन्तरिक लेखापरीक्षणमा र भुक्तानीका रेवती नेपाललाई मुद्रा व्यवस्थापन विभागमा पुर्याइएको थियो । थापालाई कोरोना महामारीको विषम परिस्थितिमा प्रकाशित नेपाली नोट सम्बन्धी सूचना विवादित बनेपछि मुद्राबाट हटाइएको बताइएको छ ।

बैंकले नयाँ मौद्रिक नीति जारी गरिसकेको, सोबमोजिमको एकीकृत निर्देशनमा संशोधन भइसकेको, भुक्तानी प्रणाली विभागले केही निर्देशन र नयाँ व्यवस्था जारी गरिसकेको तथा विदेशी विनिमय व्यवस्थापन विभागले जारी गर्ने निर्देशन पनि अन्तिम चरणमा पुगेकाले लगत्तै विभागीय प्रमुखहरूको सरुवा हुने अड्कल गरिएको छ ।

पूर्व एमाले तथा हाल सत्तारुढ नेकपासँग निकट केही कार्यकारी निर्देशकले परिवर्तित अवस्थामा आफूले राम्रो विभाग पाउनुपर्ने आवाज बढ्दै गएपछि गभर्नर अधिकारी पनि सरुवाको लागि अग्रसर भएको बताइएको छ । तर, कार्यकाल मुश्किलले छ महिना मात्र बाँकी रहेका दुबैजना डेपुटी गभर्नरले भने हाकिमहरूको सरुवामा कुनै चासो नराखेको बैंक स्रोतले बताएको छ । आगामी फागुन तेस्रो साता दुईजना कार्यकारी निर्देशकले डेपुटी बन्ने अवसर पाउने भएकाले पनि महत्वपूर्ण विभागमा रहेका विभागीय प्रमुखलाई अहिले नै नचलाउने मनस्थितिमा गभर्नर छन् ।

झापा पुख्र्यौली थलो भएकी, भूतपूर्व गभर्नर तथा अर्थमन्त्री युवराज खतिवडासँग निकट सम्बन्ध रहेकी एमाले समर्थित निलम ढुंगानाले राष्ट्र ऋण व्यवस्थापनबाट गतिलो विभागको चाहना राखेपछि बैंकका कार्यकारी निर्देशकहरूको सरुवाको सम्भावना बढेको हो । ढुंगानाको चाहना भएपनि फागुनअघि अनुसन्धान र नियमन विभागबाट गुणाकर भट्ट तथा देवकुमार ढकाललाई हटाउने कुनै संकेत देखिँदैन । त्यसैगरी बैंक सुपरीवेक्षण विभागका मुकुन्द कुमार क्षेत्रीलाई पनि तत्काल चलाउने मुडमा गभर्नर देखिँदैनन् । काँग्रेस निकट भनिएपनि क्षेत्री झापाली चार्टर्ड एकाउण्टेण्ट हुन् । गभर्नर अधिकारी सामान्यतयाः झापाली र चार्टर्ड एकाउण्टेण्टलाई पहिलेदेखि नै नकारात्मक सूचीमा राख्दैनन् ।

ढुंगानाले अन्त कँही नभए विदेशी विनिमय व्यवस्थापन विभाग भएपनि चित्त बुझाउने बताएपछि सम्भवतः उनलाई विदेशी लैजाने सम्भावना प्रवल देखिन्छ । उता, विकास बैंक सुपरीवेक्षण विभागका ऋषिकेश भट्टले पछिल्लो समयमा माखो नमारेको रिपोर्ट आएपछि उनी सरुवाको हिट लिष्टमा रहेको बताइन्छ । हुनतः भट्ट पनि एसीसीए हुन् । तर, केही विकास बैंकहरूमा भएका गलत क्रियाकलाप र खराबीको बारेमा विभागमा परेका धेरैवटा उजुरीलाई सिरानी हालेर सुतेपछि गभर्नर उनीप्रति नकारात्मक बनेका हुन् । स्रोतका अनुसार सम्भवतः भट्टलाई सामान्य सेवा विभाग पुर्याइन्छ ।

सामान्य सेवाका सुमन अधिकारी राष्ट्र ऋण व्यवस्थापन विभाग पुग्नेछन् । अधिकारी हालका डेढ दर्जन कार्यकारी निर्देशकमध्ये सबैभन्दा पूराना र खाँटी एमाले मात्रै होइनन् उनी झापाली समेत हुन् । उनलाई पूर्व एमालेका नेताहरूले आगामी डेपुटी गभर्नरको सशक्त उम्मेदवारको रूपमा समेत हेरेका छन् । तर, राजनीतिक अवसर छोपेर बसेका (नेकपाले बहुमत ल्याएपछि मात्र रातारात वामपन्थी बनेका केही कार्यकारी निर्देशक तथा कर्मचारी) हरूले भने अधिकारीलाई भाउ दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्