लिबर्टी इनर्जी कम्पनीले सर्वसाधारणलाई आइपिओ बाँढ्दै
काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आइपिओ वितरण गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १५ लाख कित्ता साधारण सेयर बिक्री आजदेखि खुल्ला गरेको हो ।
आयोजनाको अतिप्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वडा नं. ६ र ७ का स्थानीयलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका बाँकी वडा र बेँसीसहर नगरपालिकाको वडा नं। ११ का स्थानीयलाई छुट्याएकोमध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता निष्कासन सुरु गरेको कम्पनीले जनाएको छ ।
स्थानीय प्रभावितहरुले प्रतिकित्ता सय रुपैयाँमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन कम्पनीले जनाएको छ । निष्कासन बन्द छिटोमा ११ चैतमा र ढिलोमा २६ चैतमा हुनेछ ।
कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइपिओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ जुन कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत हो ।